काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मंगलबार पहिलोपटक भेटवार्ता भएको छ। जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि दुई नेताबीच यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।
ट्रम्पले आयोजना गरेको एक स्वागत समारोहका क्रममा भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, अर्थमन्त्री स्कट बेसेन्ट, ह्वाइट हाउसका प्रमुख कर्मचारी सुसी वाइल्स तथा नीतिसम्बन्धी उपप्रमुख स्टेफन मिलर पनि सहभागी रहेको ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।
रोड्रिगेजको नेतृत्वमा रहेको भेनेजुएलाको प्रतिनिधिमण्डलले अमेरिकासँग ऊर्जा, खानी तथा ऋणसम्बन्धी विषयमा छलफल गरिरहेको छ। प्रतिनिधिमण्डलमा अर्थतन्त्रसम्बन्धी उपराष्ट्रपति, तेलमन्त्री तथा सरकारी तेल कम्पनी पीडीभीएसएका अधिकारीहरू सहभागी छन्। प्रतिनिधिमण्डलले भेनेजुएलालाई विदेशी लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको जनाइएको छ ।
अमेरिका र भेनेजुएलाबीचको पछिल्लो सहकार्यमा तेल क्षेत्र प्रमुख विषय बनेको छ। ट्रम्पले गत महिना काराकाससँग भएको तेलसम्बन्धी सम्झौतालाई ‘सम्भवतः अहिलेसम्मकै ठूलो सम्झौता’ भएको बताएका थिए। उनले भेनेजुएलाको तेल उद्योगमा करिब १०० अर्ब अमेरिकी डलर बराबरको लगानी भित्र्याउने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।
रोड्रिगेज सोमबार न्यूयोर्क पुगेकी हुन्। उनको प्रतिनिधिमण्डलले अमेरिकी अधिकारी, बहुपक्षीय वित्तीय संस्थाहरू तथा निजी कम्पनीका प्रतिनिधिसँग ऊर्जा, खानी र ऋणसम्बन्धी विषयमा छलफल गरिरहेको बताइएको छ।
यसैबीच, अन्तर(अमेरिकी विकास बैंकबाट भेनेजुएलाका लागि करिब २.५ अर्ब डलरको ऋण स्वीकृत गराउने प्रयास भइरहेको छ। यद्यपि बैंकको सञ्चालक समितिका केही सदस्यबाट यसको विरोध भएको बताइएको छ।
रोड्रिगेजको अमेरिका भ्रमणको विरोधमा मंगलबार ५० भन्दा बढी भेनेजुएली प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर प्रदर्शन गरेका थिए। उनीहरूले भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको माग गर्दै भेनेजुएलाको झण्डा बोकेका थिए। उनीहरूले अमेरिकी प्रशासनलाई रोड्रिगेज सरकारसँग आर्थिक तथा ऊर्जा सम्झौता गर्नुअघि भेनेजुएलामा निर्वाचन सुनिश्चित गर्न दबाब दिन आग्रह गरेका छन्।
प्रदर्शनकारीमध्ये केहीले रोड्रिगेजको राजनीतिक पृष्ठभूमिप्रति पनि प्रश्न उठाएका छन्। रोड्रिगेज मादुरो सरकारमा उपराष्ट्रपति रहिसकेकी थिइन्। भेनेजुएलाका विपक्षी समर्थकहरूले उनलाई लामो समयदेखि सत्तारूढ चाभिस्ता राजनीतिक संरचनाको हिस्सा रहेको आरोप लगाउँदै आएका छन्।
यसैबीच, ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मादुरोलाई ‘अपराधी तानाशाह’को संज्ञा दिएका थिए। उनले मादुरो पक्राउपछि सयौँ राजनीतिक बन्दी रिहा भएको दाबी गर्दै भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीलाई आफ्नो प्रशासनले पश्चिमी गोलार्धमा अमेरिकी हितको रक्षा गर्न सैन्य शक्ति प्रयोग गर्न सक्ने उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।