बुधबार, आश्विन ७,२०८३ 02:33:07
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 02:33:07
Bizshala
Global IME Bank Limited

साउदी अरबले तेल आपूर्ति पुनः बढाएपछि कच्चा तेलको मूल्यमा सामान्य गिरावट

Bizshala
साउदी अरबले तेल आपूर्ति पुनः बढाएपछि कच्चा तेलको मूल्यमा सामान्य गिरावट
New Office

काठमाण्डौ । साउदी अरबले प्रमुख तेल पाइपलाइनमार्फत कच्चा तेलको आपूर्ति पुनः बढाउन थालेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ। यससँगै अमेरिका–इरान युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढ्ने सम्भावनाले पनि बजारमा आपूर्ति सहज हुने अपेक्षा बढाएको छ।

बुधबार ब्रेन्ट क्रुडको मूल्य ०.७२  प्रतिशतले घटेर प्रतिब्यारेल ९८.५४ डलरमा सीमित बनेको छ। यस्तै, डब्ल्यूटीआईको मूल्य १.३७ प्रतिशत घटेर प्रतिब्यारेल ८९.२८ डलरमा झरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानलाई ‘समाप्त पार्न सक्ने’ चेतावनी दिएका थिए। तर, उनले आफ्ना दूत स्टिभ विट्कफ र जारेड कुशनरले युद्ध अन्त्यका लागि इरानी मध्यस्थकर्तासँग सकारात्मक छलफल गरेको पनि बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्यूयोर्कमा बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको भेटपछि ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने सम्भावना रहेको बताएका थिए।

कूटनीतिक समाधानको सम्भावना र तेल आपूर्ति बढ्ने अपेक्षाका कारण मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १०० डलरभन्दा तल झरेको थियो। यो सेप्टेम्बर ८ यताकै पहिलोपटक हो।

सेप्टेम्बर ११ मा ड्रोन आक्रमणपछि उक्त पाइपलाइन बन्द गरिएको थियो। आक्रमणका कारण साउदी अरबको यान्बु बन्दरगाहबाट कच्चा तेल लोडिङसमेत प्रभावित भएको थियो। साउदी अरबले उक्त आक्रमणका लागि इराकी मिलिसियालाई जिम्मेवार ठहर गरेको थियो।

हर्मुज जलमार्ग हुँदै तेल आपूर्तिमा अवरोध आएपछि साउदी अरबले उक्त पाइपलाइनमार्फत दैनिक करिब ४० लाख ब्यारेल कच्चा तेल यान्बुतर्फ पठाउँदै आएको थियो। यो मात्रा विश्वको दैनिक तेल आपूर्तिको करिब ४ प्रतिशत बराबर हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी क्षेत्रबाट तेलको नियमित प्रवाह प्रभावित भएपछि वैकल्पिक मार्गका रूपमा पाइपलाइनको महत्व बढेको हो।

इराकले समेत कच्चा तेलको निर्यात बढाइरहेको जनाएको छ। इराकका तेलमन्त्री बासिम मोहम्मदका अनुसार मुलुकले अहिले दैनिक ३० लाख ब्यारेलभन्दा बढी तेल निर्यात गरिरहेको छ।

टर्की हुँदै हुने निर्यातसमेत बढाएर दैनिक ६ लाख ब्यारेलभन्दा माथि पुर्‍याउने तयारी भइरहेको उनले बताएका छन्। साउदी अरब र इराकबाट आपूर्ति बढ्ने संकेतले अन्तर्राष्ट्रिय बजारमा तत्कालको आपूर्ति दबाब केही कम हुने अपेक्षा गरिएको छ। यसबीच अमेरिकी लगानी बैंक जेपी मोर्गनले तेल बजारको आगामी दिशाबारे स्पष्ट अनुमान गर्न कठिन भएको जनाएको छ।

बैंकका विश्लेषकहरूले इरान युद्ध सुरु भएयता पहिलोपटक तेल बजारका लागि स्पष्ट ‘बेसलाइन’ परिदृश्य निर्धारण गर्न नसकिएको बताएका छन्। उनीहरूका अनुसार द्वन्द्व कसरी अन्त्य हुन्छ र त्यसले तेल आपूर्तिमा कस्तो प्रभाव पार्छ भन्ने विषय अझै अनिश्चित छ।

द्वन्द्व सुरु हुँदा अमेरिकी प्रशासनले निश्चित आर्थिक तथा रणनीतिक सीमाभन्दा अघि नबढ्ने अनुमान गरिएको भए पनि पछिल्ला महिनामा तीमध्ये धेरै सीमा पार भइसकेको जेपी मोर्गनको विश्लेषण छ। युद्ध अन्त्य गर्ने स्पष्ट रणनीति अझै देखिन नसक्दा बजारमा अनिश्चितता कायम रहेको बैंकले जनाएको छ।

अर्कोतर्फ, गोल्डम्यान स्याक्सले मध्यपूर्वमा जहाजमाथिका आक्रमण बढेमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्ने एउटा सम्भावित परिदृश्य प्रस्तुत गरेको छ।

गोल्डम्यान स्याक्सका ग्लोबल कमोडिटिज रिसर्चका सहप्रमुख डान स्ट्रुभेनका अनुसार पछिल्ला आक्रमणले समुद्री ढुवानीमा देखिएको जोखिम थप फैलिन सक्ने देखाएको छ।

उनका अनुसार तेलको मूल्यमा ढुवानीसम्बन्धी जोखिम महत्वपूर्ण कारक बनेको छ। आपूर्ति र निर्यात सामान्य अवस्थामा फर्किएमा भने तेलको मूल्य पुनः ८० डलर आसपासमा आउन सक्ने बैंकको अनुमान छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.