काठमाण्डौ । अमेरिकी जुरीले प्रविधि कम्पनी एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेको ठहर गर्दै सान डिएगोस्थित ट्याक्सनलाई ५.७ अर्ब अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ।
फैसलाअनुसार एप्पलका आईफोन र एप्पल वाचमा प्रयोग हुने ह्याप्टिक फिडब्याक प्रविधि सञ्चालन गर्ने ‘ट्याप्टिक इन्जिन’ ले ट्याक्सनका दुईवटा पेटेन्ट उल्लंघन गरेको जुरीले ठहर गरेको हो। यो फैसला अमेरिकी इतिहासमा पेटेन्टसम्बन्धी मुद्दामा आएको सबैभन्दा ठूलो क्षतिपूर्तिमध्येको एक भएको बताइएको छ।
एप्पलले भने जुरीको फैसलाविरुद्ध अपिल गर्ने जनाएको छ। कम्पनीले ट्याक्सनको प्रविधि आफूले प्रयोग नगरेको दाबी गर्दै एप्पलको ‘ट्याप्टिक इन्जिन’ ट्याक्सनको प्रविधिभन्दा मौलिक रूपमा फरक रहेको बताएको छ।
एप्पलले एक विज्ञप्तिमा भनेको छ, “एप्पलको ट्याप्टिक इन्जिन ट्याक्सनको प्रविधिभन्दा मौलिक रूपमा फरक छ। एप्पलले ट्याक्सनको प्रविधि प्रयोग गर्दैन र हामी फैसलाविरुद्ध अपिल गर्नेछौं।”
ट्याक्सनका वकिल लान्स याङले भने जुरीको फैसलाप्रति सन्तुष्टि व्यक्त गर्दै कम्पनीको पेटेन्ट अधिकार स्थापित भएको बताएका छन्।
हेडफोन तथा गेमिङ हेडसेटमा ह्याप्टिक प्रविधि प्रयोग गर्ने ट्याक्सनले सन् २०२१ मा एप्पलविरुद्ध मुद्दा दायर गरेको थियो। एप्पलले आरोप अस्वीकार गर्दै सम्बन्धित पेटेन्ट नै अमान्य रहेको दाबी गरेको थियो।
यसअघि सन् २०२३ मा सान डिएगोस्थित संघीय अदालतका न्यायाधीशले एप्पलले ती पेटेन्ट उल्लंघन नगरेको फैसला गरेका थिए। तर, गत वर्ष अमेरिकी फेडरल सर्किटको अपिल अदालतले उक्त मुद्दालाई पुनः अघि बढाउने बाटो खोलेपछि मुद्दा पुनः सुनुवाइमा गएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।