काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाल्पा, बागलुङ र म्याग्दीका गरी ७ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ। असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो तथा लगातारको वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमा पाल्पाका एक, बागलुङका चार र म्याग्दीका दुई जना छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे पूर्वसूचना दिएपछि जोखिमयुक्त क्षेत्रलाई रेड, एम्बर र यलो अलर्टमा वर्गीकरण गरी पूर्वतयारी गरिएको प्राधिकरणले जनाएको छ।
जोखिम बढी रहेका जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा प्रतिकार्य टोली परिचालन गरिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् व्यवस्थापनमा संलग्न निकायसँग निरन्तर सूचना आदानप्रदान भइरहेको जनाइएको छ।
हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेकाले पर्यटक तथा पदयात्रीलाई लक्षित गरी छुट्टै सतर्कता सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ।
नवलपरासीमा १ हजार १ सयभन्दा बढी सुरक्षित स्थानमा प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा र पर्वतलगायत जिल्लामा बाढी, नदी कटान तथा पहिरोको जोखिम उच्च देखिएको छ। पर्वतमा केही घर बाढीले बगाएको भए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणले जनाएको छ। नवलपरासी क्षेत्रमा मात्रै १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी तथा पहिरो प्रभावित अन्य क्षेत्रमा पनि उद्धार र स्थानान्तरणको काम जारी छ। म्याग्दीमा उद्धार कार्यका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ। उद्धार गरी सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना, पिउने पानी तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ। प्राधिकरणका अनुसार आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदी तथा खोलाको बहाव थप बढ्न सक्ने जोखिम छ। यसले नयाँ क्षेत्रमा बाढी, कटान र पहिरोको सम्भावना बढाउन सक्ने भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।