काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनी कम्पनीले १ करोड ७७ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तसम्ममा विद्युत उत्पादन सुरु गरिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ८९ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च ४ करोड ६३ लाखले ऋणात्मक र कर्मचारी खर्च पनि १ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २० करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कुल चालु सम्पत्ति ३५ करोड ३५ लाख र कुल चालु दायित्व ४२ करोड ६८ लाख रुपेयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९४.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.२१ रुपैयाँ कायम भएको छ ।