काठमाडौँ। निविक्स फर्मास्युटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव विशेष साधारण सभामा लैजाने भएको छ। कम्पनीले यससँगै अधिकृत तथा जारी पूँजी बढाउने र संस्थापक–सर्वसाधारणको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव राखेको छ।
कम्पनीको सूचनाअनुसार हालको ५५ करोड रुपैयाँ रहेको अधिकृत तथा जारी पूँजी बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्याउने प्रस्ताव छ। ४० प्रतिशत हकप्रद निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई दिने विषय पनि सभाको कार्यसूचीमा छ।
सेयर संरचनासम्बन्धी प्रस्तावमा संस्थापक समूहको स्वामित्व ७५ प्रतिशतबाट ८० प्रतिशत पुर्याउने र सर्वसाधारण समूहका लागि छुट्याइएको हिस्सा २५ प्रतिशतबाट २० प्रतिशतमा संशोधन गर्ने उल्लेख छ। त्यसपछि सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव अघि सारिएको छ। यी प्रस्ताव स्वीकृत भए कम्पनीको पूँजी र सेयर स्वामित्व दुवैमा परिवर्तन हुनेछ।
विशेष साधारण सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने र प्रस्ताव कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि छलफल हुनेछन्।
कम्पनीले विशेष साधारण सभा असोज २६ गते सोमबार बिहान ११ बजे, पोखरा इभेन्ट सेन्टर, बुढीबजार, पोखरामा बोलाएको छ। सभाका लागि सेयरधनी दर्ता पुस्तिका असोज २० र २१ गते बन्द रहने सूचनामा उल्लेख छ।
४० प्रतिशत हकप्रद र २० प्रतिशत आईपीओ अहिले सभामा पेश गरिएका प्रस्ताव हुन्। सेयरधनीको स्वीकृति र सम्बन्धित नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै निष्कासन अघि बढ्न सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।