काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्ने संसद् सचिवालयले जनाएको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नेछन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘ कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ ’, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ ’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।