काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।
कम्पनीले लाभांश वितरण, वार्षिक साधारणसभा र बुक क्लोजसम्बन्धी निर्णय समयमै नेप्सेलाई जानकारी नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टीकरणसमेत मागेको हो।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते दिउँसो ३:३० बजे बसेर वार्षिक साधारणसभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो।
तर उक्त निर्णयको जानकारी नेप्सेलाई भोलिपल्ट अर्थात् असोज २७ गते बेलुका ५:५९ बजे मात्र NOTS मार्फत प्राप्त भएको पत्रमा उल्लेख छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्न सक्ने सूचना, जानकारी तथा निर्णय सिर्जना हुनासाथ सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
तर विन्ध्यवासिनी हाइड्रोले तोकिएको समयसीमाभित्र जानकारी नदिएको भन्दै नेप्सेले विनियमावलीको व्यवस्थाअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गरेको जनाएको छ।
नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र समयमै सूचना नदिनुको कारण खुलाएर स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।