काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधासहितको प्रस्ताव गरेको छ ।
गुगलको मातृ कम्पनी अल्फाबेटले क्यानडा, फ्रान्स, जर्मनी, जापान र स्विट्जरल्यान्डका केही कर्मचारीका लागि गत जुनदेखि स्वेच्छिक बहिर्गमन कार्यक्रम सञ्चालन गरेको हो ।
कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्युटिङमा लगानी बढाउँदै स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्ने उद्देश्यले कम्पनीले यस्तो कदम चालेको हो । एआईमा बढ्दो खर्च र कर्मचारी सङ्ख्यामा भएको वृद्धिले कम्पनीको लागत व्यवस्थापनमा दबाब परेको छ ।
स्विट्जरल्यान्डको जुरिचस्थित गुगलको इन्जिनियरिङ केन्द्रका कर्मचारीलाई पनि यस्तो प्रस्ताव गरिएको थियो । प्रस्ताव स्वीकार गर्ने कर्मचारीले सेवाको प्रत्येक वर्षबापत एक महिनाको तलब पाउनेछन् । यस्तो सुविधा अधिकतम १२ महिनाको तलबसम्म उपलब्ध हुनेछ ।
गुगलमा सन् २०२६ सेप्टेम्बरको अन्त्यसम्म कर्मचारी सङ्ख्या दुई लाख चार हजार पुगेको छ । कम्पनीले पछिल्लो छ महिनामा करिब १० हजार कर्मचारी थपेको छ । यस वर्ष मार्चमा साइबर सुरक्षा कम्पनी विज (Wiz) अधिग्रहण गरेपछि त्यसका दुई हजार कर्मचारी पनि गुगलमा समाहित भएका थिए ।
यसअघि माइक्रोसफ्टले पनि खर्च नियन्त्रणका लागि ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधासहितको प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।