काठमाण्डौं । धितोपत्र बोर्डले आगामी बजेटमा लगानीकर्तालाई प्यान नम्बर (स्थाई लेखा नम्बर)मा कारोबार गर्न प्रोत्साहन हुने व्यवस्था गर्न सरकारलाई सुझाव पेस गरेको छ । बोर्डले अर्थमन्त्रालयलाई आगामी बजेटमा पूँजी बजारको विकासका लागि यस्तो सुझाव दिएको हो ।
बोर्डस्थित उच्च स्रोतले दिएका जानकारीअनुसार प्यान नम्बरमा जान प्रोत्साहन गर्नको लागि हाल सरकारले हरेक वर्ष लगानीकर्ताले आफ्नो नाफा/घाटा समायोजन गर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यसले लगानीकर्तालाई नै फाइदा हुन स्रोतले जनाएको छ ।
हाल धितोपत्र बजारमा प्रतिकारोबार ५ लाख रुपैयाँभन्दा बढीको कारोबारमा लगानीकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था छ । तर सबै लगानीकर्ताका लागि भने प्यान अनिवार्य गरिएको छैन । अर्थ मन्त्रालयस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार पहिले लगानीकर्ताहरुलाई प्रोत्साहन गरि प्यानमा कारोबार गर्न अभ्यस्त पार्ने र विस्तारै सबै कारोबारमा प्यान अनिवार्य गर्ने सरकारले तयारी गरिरहेको छ ।
‘हाल प्यानको आवश्यकता र महत्व बढ्दै गएको छ । सेयर बजारको विकास र विस्तारसँगै अहिलेको समयमा व्यक्तिगत लगानीकर्ताले पनि प्यान लिएरै कारोबार गर्दा फाइदा नै हुने देखिन्छ’, सेयर लगानीकर्ता गोविन्द प्रसाद घिमिरेले भन्छन् ।
घिमिरेका अनुसार प्यानको मुख्य फाइदा भनेको पूँजी बजारबाट कमाएको आम्दानीलाई वैधानिकता दिनु र आम्दानीको स्रोत पहिचान हुन सक्नु पनि हो । ‘सेयर बजारबाट पैसा कमाएपछि देश–विदेश पनि घुम्न जान तथा आफ्ना छोराछोरीलाई विदेशमा अध्ययनका लागि पठाउनु परेमा प्यानमार्फत गरिएको कारोबार विश्वासिलो आधार बन्छ । विदेशी दूतावास तथा अध्यागमन विभागहरुले प्यानमार्फत गरिएको कारोबारलाई वैध मान्ने हुँदा हरेक लगानीकर्ताका लागि देश–विदेश घुम्न जान यो निकै उपयुक्त हुने देखिन्छ,’ घिमिरेले भने ।