काठमाडौं । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि देशभरका राजस्व कार्यालय खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले राजस्व संकलन तथा करदाताको सहजताका लागि मातहतका सबै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो।
विभागका अनुसार कात्तिक मसान्त परेकाले करदातालाई गत आर्थिक वर्षको आय विवरण दाखिला, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग, बक्यौता फरफारक तथा अन्तःशुल्कजन्य वस्तु निष्कासनमा सहजीकरण गर्न कार्यालय खुला राख्न लागिएको हो।
विभागले ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयसहित देशभरका सबै आन्तरिक राजस्व कार्यालयलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
राजस्व संकलन सहज बनाउन बैंकहरूसँग समन्वय गर्न तथा एनसीएचएल प्रणालीमार्फत हुने भुक्तानीका लागि नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसलाई समेत जानकारी गराइएको विभागले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।