काठमाण्डौ । एलन मस्कले स्थापना गरेको एआई कम्पनी,‘एक्सएआई’२४ बिलियन डलर मूल्यबराबरको कम्पनी बनेको छ । कम्पनीले लगानीकर्ताबाट थप ६ बिलियन डलर लगानी जुटाएसँगै कम्पनीको मूल्य २४ बिलियन डलर पुगेको हो ।
सेक्वाईया क्यापिटल,आन्द्रीसेन होरोविथ्ज र साउदी राजकुमार अवालिद बिन तलालले आइतबार कम्पनीलाई दोस्रो चरणको फण्डिङ उपलब्ध गराउने घोषणा गरेका छन् ।
मस्कले एक्सएआईलाई गत वर्षको जुलाई महिनामा स्थापना गरेका थिए । सोमबार मस्कले एक्समा पोस्ट गर्दै आगामी साताहरुमा अझ धेरै घोषणा हुन बाँकी रहेको बताएका छन् ।
एक्सएआईले नयाँ लगानी भएको पैसा बजारमा ल्याउने पहिलो प्रडक्ट निर्माण गर्न,उच्च प्रविधि विकास गर्न र भविष्यको प्रविधिको अनुसन्धान र विकासलाई गति प्रदान गर्न उपयोग गरिने जनाएको छ ।
नयाँ फण्डले कम्पनीलाई चर्चित च्याटबट च्याट जीपीटी सञ्चालन गरिरहेको ओपन एआईसँग प्रतिस्पर्धा गर्न सहयोग हुने विश्वास गरिएको छ । मस्क ओपन एआईका सह–संस्थापक थिए । तर कम्पनीको दिशा–निर्देशनमा असहमति भएपनि मस्क ६ वर्षअघि ओपन एआईको अध्यक्ष पदबाट पछि हटेका थिए ।
गत वर्षको नोभेम्बर महिनामा एक्सएआईले एक्सका सःशुल्क प्रयोगकर्ताहरुका लागि ‘ग्रोक’ नामक एआई च्याटबट विकास गर्ने घोषणा गरेको थियो । -एजेन्सी