काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा डाकेको हो ।
यसअघि चैत २९ गते आयोजना हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । अब भने कम्पनीको १० औं वार्षिक साधारण सभा आगामी जेठ २७ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुने भएको छ ।
उक्त सभामा कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवद्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने र हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।