काठमाण्डौ । आज हामी नियमित स्तम्भ ग्राउण्ड जिरोको सिलसिलामा राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । लगानीकर्ताहरुको विचार सुन्ने क्रममा आज हामी बिहान ११ बज्दा नबज्दै कमलादीस्थित मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) पुगेका थियौं ।
यहाँ लगानीकर्ताहरु ठूलै संख्यामा उपस्थित थिए । विहानको सुरुवाती सत्रमा बजार राम्रै अंकले बढिरहेको थियो । बढेको बजार हेरेर लगानीकर्ता दंग देखिन्थे । यसैबीच अग्रपंक्तिमा रहेका एक लगानीकर्ताले भनेको सुनियो, ‘२०५० मा बलियो सपोर्ट छ भन्छन्, बजार त अब घट्दैन जस्तो छ ।’ सँगैका लगानीकर्ताले भने,‘ मलाई त नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा साथीले हजार पुग्छ भनेर फसायो । बजार बढे त राम्रै हुने थियो । अझै बढ्छ भनेर एक सय रुपैयाँ फाइदा हुँदा पनि बेचिएन अहिले घाटामा छ ।’
लगानीकर्ताहरुले आ–आफ्नो स्क्रिप्टका बारेमा भलाकुसारी गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अबको बुलमा एचडीएल जस्तै बढ्ने कम्पनी कुन हो ? भनेर प्रश्न गरे । ‘हाथवेको बढ्न सक्छ ’ अर्का लगानीकर्ताले जवाफ दिए,‘ यो कम्पनीले पनि सेयरमा लगानी गरेको छ । बजार बुल भए त हाथवेले लिड गर्न सक्छ ।’
भित्तामा झुण्डिएको घडीमा दिनको १२ बजेको थियो । बजारमा पनि विस्तारै बिक्री दबाव पर्न थालेको थियो । केही समयको बसाई पछि हामी नक्सालस्थित नासा सेक्युरिटज् (स्टक ब्रोकर नम्बर ५८) पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु राम्रै संख्यामा भेला भएका थिए । बजार एक दुई अंकले तलमाथि गर्दै थियो । एक लगानीकर्ताले प्राविधिक रुपमा विश्लेषण गर्दै गत साता वेभ ४ मा करेक्सन आएको र अब वेभ ५ बाँकी रेहेकोले बजार यहाँबाट तल नजाने तर्क गरे ।
केही समय पछि हामी चारखालस्थित क्यापिटल म्याक्स सेक्युटिज (स्टक ब्रोकर नम्बर ६२)मा पुग्यौं । यहाँ भेटिएका लगानीकर्ताहरुले पनि बजार अब धेरै तल नजाने तर्क गर्दै थिए । ‘साह्रै खराब अवस्थामा मात्रै बजार २०५० बाट तल जाला होइन भने बजार अब तल जाँदैन ।’ कालो झोला भिरेका एक लगानीकर्ताले दाबी गरे । उनले आफूले बजेटपछि बजार राम्रै अंकले बढ्ने आशा गरेकाले ब्रोकरमा उधारोमा सेयर किन्दा मर्कामा परेको समेत गुनासो गरे ।
उनले घट्दो बजारमा उधारो कारोबार घातक हुने र यसले घरबार बिग्रने समेत तर्क गरे । ब्रोकरहाउसमा यस्तै गल्फति चल्दै थिए । बजार सामन्य अंकले तल माथि गर्दै थियो । केही समयको बसाई पछि हामी ज्ञानेश्वरमा रहेको सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) तर्फ लम्कियौं ।
यस बेलासम्म दिनको २ बजिसकेको थियो । यहाँ पनि लगानीकर्तामा उत्साहित नै देखिन्थे । लगानीकर्ता आफ्नै तरिकाले बजारको अवस्थामा नियाल्नमा तल्लिन थिए । ‘मैले रेष्टुरेण्ट व्यापारमा कमाएर ल्याएको १ करोड घटेर सेयर बजारमा ४० लाख रुपैयाँमा सीमित बनेको छ । ६० लाख स्वाहा भयो, म अब के गरौं,’ ग्लानीपूर्ण स्वरमा एक लगानीकर्ताले भनेको सुनियो । उनी सँगै बसेका लगानीकर्ताले भने,‘ नछिर्नु बजारमा छिरी हाल्नुभयो, अब २ करोड बनाएर लैजानुहोस । मैले पनि राम्रै पाठ सिकेर अहिले कमाएको पैसाबाट थप लगानी गरेको छु । गएको बुलमा पाठ सिकियो । अब आउने बुलमा कुस्त कमाउने हो ।’