काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका मालिक गौतम अडाणीले लगानीका लागि भुटानलाई प्राथमिकतामा राखेका छन् । अडाणी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाईड्रो प्लान्ट निर्माण गर्ने भएको छ । यस विषयमा केन्द्रीत रहेर गौतम अडाणीले जुन १६ मा भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेटघाट गरेका छन् ।
यस क्रममा अडाणीले भुटानमा ५७० मेगावाटको ग्रीन हाईड्रो प्लान्ट निर्माण गर्नका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यस भेटघाटको फोटो आफ्नो एक्स अकाउन्टमा सेयर गर्दै अडाणीले भुटानका प्रधानमन्त्री र राजासँगको भेटघाट विशेष रहेको बताएका छन् । उनले उक्त क्रममा भुटानको चुखा प्रान्तमा ५७० मेगावाटको हरित हाईड्रो प्लान्ट स्थापनाका लागि ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेडसँगको एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अडाणीले भुटानको उर्जा क्षेत्रमा मिलेर काम गर्न उत्साहित रहेको बताएका छन् । यसअघि अडाणी ग्रुपले श्रीलंकाको नविकरणीय उर्जाको क्षेत्रमा काम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । दुवै पक्षले २० वर्षका लागि २० वर्षका लागि सहकार्य गर्ने सहमति जनाएका छन् । -एजेन्सी