काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले आईफोन निर्माता कम्पनी एप्पललाई प्रविधिसँग सम्बन्धित नयाँ नियम उल्लंघन गरेको आरोप लगाएको छ । ईयुले एप्पलले एड डेभलपर्सलाई आफ्ना ग्राहकलाई सस्तो मूल्यमा सेवा प्रदान गर्न रोक लगाएको आरोप लगाएको हो ।
ईयुले गत मार्च महिनामा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यस्तो तथ्य पाइएको जनाएको छ । यदि कम्पनी यस विषयमा दोषी सावित भयो भने कम्पनीले ३८३ बिलियन डलरबराबरको विश्वव्यापी आम्दानीको १० प्रतिशत अर्थात ३८.३ बिलियन डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
यदि कम्पनीले भविष्यमा यस्तो गल्ति फेरी पनि दोहोरायो भने कम्पनीले विश्वव्यापी आम्दानीको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुनसक्ने ईयुले जनाएको छ ।
ईयुले कुनैपनि कम्पनीलाई हालै जारी गरेको नयाँ प्रविधि कानून,‘डिजिटट मार्केट एक्ट(डीएमए)’ मा रहेको प्रावधान उल्लंघन गरेको आरोपमा लगाएको यो पहिलोपटक हो । डीएमए गत मार्च महिनादेखि लागू भएको थियो । यो ऐनमा ठूला टेक कम्पनीकोहरुको दबदवा कम गर्न प्रतिस्पर्धि कानूनहरुको व्यवस्था गरिएको छ ।
मार्च महिनामा ईयुले एप्पल, गूगल र मेटामाथि अनुसन्धान सुरु गरिने जनाएको थियो । -एजेन्सी