काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.३१ अंक अर्थात ०.२५ प्रतिशतले घटेर २ हजार ०६१.७० बिन्दुमा सीमित भएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ३७३.३२ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजार घट्नुको कारणबारे बजार जानकार महेश रिजाल भन्छन्,‘आज बजारमा सप्लाई बढी भयो । हिमालयन रि को आईपीओले बजारबाट पैसा लग्यो । अब अपर तामाकोशीको पैसा आएपछि बजार बढ्छ । ब्रोकरहरुले पनि अपर तामाकोशीको लिलामीमा पैसा लगानी गरेका छन् । ’
विदेशमा रहेका गैरआवासिय नेपालीहरु(एनआरएन)लाई समेत नेपाली सेयर बजारमा भित्र्याउनुपर्नेमा रिजालले जोड दिए । वर्तमान बजारको आवश्यकता औल्याउँदै उनले भने,'सेयर धितो कर्जाको जोखिम भारको हालको रेसियोलाई अझ घटाउनुपर्छ र नेपाल राष्ट्र बैंकले बजारसँग सम्बन्धित अन्य नीतिलाई पनि सहज बनाउनुपर्ने देखिन्छ । ’
यस्तै अर्का बजार जानकार दामोदर गजुरेलले बजार घटेपनि २०४० मा बलियो सर्पोट रहेको बताए । नाफा बुकिङका कारण बजार घटेको गजुरेलको विश्लेषण छ । उनले भने‘ मार्केट बियरिस भईहालेको होइन । लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा छन् ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा उपसूचक मात्रै बढे । आज विकास बैंक उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो । यो उपसूचक ०.६६ प्रतिशतले बढेको छ । यो दिन वित्त उपसूचक ०.४०,लगानी ०.०९ र निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले बढे ।
आज सबैभन्दा धेरै गिरावट अन्य उपसूचकमा देखियो । अन्य उपसूचक १.०४ प्रतिशतले घटेको आज बैंकिङ उपसूचक ०.२३,होटल ०.५१,हाईड्रो ०.४२,जीवन बीमा ०.५४,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.१९,म्युचुअल फण्ड ०.४ र व्यापार उपसूचक ०.०६ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ३३ करोड ५८ लाख बढीको सेयर कारोबार भएको छ ।
त्यसैगरी एशियन लाइफको १२ करोड ९८ लाख,निफ्राको १२ करोड ३ लाख,ङादी ग्रुप पावरको ११ करोड ८८ लाख र रिडी पवारको ११ करोड २ लाख बढीको कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज यूनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । दोश्रो त्रैमासको निकै उत्साहजनक वित्तीय विवरण प्रकाशन गरेको यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
मोलुङ हाईड्रोपावर सेयरमूल्य ९.४६ले बढेको आज समाज लघुवित्तको ८.२०,भगवति हाईड्रोपावरको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ ।
आज महिला लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.३७ प्रतिशतले घट्यो । यो दिन रावा इनर्जीको सेयरमूल्य ५.१७,नेपाल वेयरहाउजिङको ३.७८ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ३.५० प्रतिशतले घटेको छ ।