काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो १२.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा एफपीओ निष्कासनमार्फत थप भएको सेयरसहित कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको १४.००५१४३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करबापतको रकम भुक्तानी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ ।
यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी साउन २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।