काठमाण्डौ । दसैँ र तिहारलाई लक्षित गरी सरकारले १० वटा कम्पनीलाई १९ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ। दसैँ र तिहारमा चिनी अभाव हुन नदिने उद्देश्यले यी कम्पनीलाई आयात अनुमति दिइएको हो। सरकारले जीटुजी मार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्न भारतसँग सम्झौता गरेको थियो।
जसमा ६ हजार मेट्रिक टन चिनी आयात गरिएको र बाँकी १९ हजार मेट्रिक टन चिनी ल्याउन बाँकी थियो। सोही मात्राको चिनी उद्योगीलाई ल्याउन दिने र स्वदेशी उत्पादन भएको चिनी आम उपभोक्तालाई बिक्री वितरण गर्ने दिने उद्योग विभागले जनाएको छ।
उद्योग विभागका अनुसार भारतबाट चिनी आयातका लागि यी उद्योगलाई स्वीकृति दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत असार २७ गते विभिन्न १० उद्योगलाई कोटा निर्धारण गरी चिनी ल्याउन अनुमति दिएको हो।
अनुमति पाउने कम्पनीमा एग्रो थाई फुड्स, गुडलाइफ बेभरेज, एशियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाललाई चिनी आयातको अनुमति दिएको हो।
यस्तै, क्वालिटी फुड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले पनि चिनी आयातको अनुमति पाएका छन्।
शिवम् डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, केआर भेन्चर्स र सुजल फुड्सले पनि आयातको अनुमति पाएको विभागले जनाएको छ।
सरकारबाट चिनी आयात अनुमति पाएका उद्योगमध्ये सबैभन्दा बढी सुजल फुड्स प्रालिले २ हजार ८५६ मेट्रिक टन चिनी आयात गर्ने भएको छ।
यस्तै, सबैभन्दा कम शिवम् डेरी एन्ड फुड इन्डस्ट्रिज प्रालिले ३८ मेट्रिक टन चिनी आयातको अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ।