काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्,‘आज बजार दोहोरो अंकले बढेको छ । आज बजारमा कारोबार घटेको छ । यसको अर्थ लगानीकर्ताले सेयर बेच्न नचाहेको हो । आज दिनभर नै बजार खासै घट्न मानेन । अपर तामाकोशीको ११ अर्बबराबरको पैसा बजारमा फिर्ता आउँदैछ । यसले बजारलाई सकारात्मक नै बनाउनेछ ।’
प्राविधिक रुपमा पनि यदि बजार यहि बाट फर्कियो भने पनि बजार २५०० सम्म पुग्ने थापाले बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्‘राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा केहि लचिलो ल्याउने भन्ने सुन्नमा आएको छ । अहिले तरलता फालाफाल छ र ब्याजदर पनि घट्दो अवस्थामा छ । यहि कारणले बजार सकारात्मक नै हुने देखिन्छ । ’
यो दिन १३ वटा उपसूचकमध्ये ४ वटामा गिरावट आएको छ भने अन्य सबै उपसूचकमा हरियाली छाएको छ । आज अन्य उपसूचकमा सर्वाधिक अर्थात ४.६८ प्रतिशतले बढेको छ ।
त्यसैगरी,बैंकिङ उपसूचक ०.१४,विकास बैंक ०.६५,वित्त ०.३४,हाईड्रो ०.५३,लगानी ०.५०,जीवन बीमा ०.१८,लघुवित्त ०.४८ र व्यापार उपसूचक ०.१४ प्रतिशतले बढे ।
आज होटल उपसूचक ०.२०,उत्पादन तथा प्रशोधन ०.०९,म्युचुअल फण्ड ०.०६ र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५९ लाख बढीको कारोबार भयो ।
त्यस्ते ङादी ग्रुप पावरको १५ करोड ४६ लाख,हाथवे इ्रन्भेष्टमेन्टको ८ करोड २३ लाख,चन्द्रागिरी हिल्सको ५ करोड ९९ लाख र रिडी पावरको ५ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये एनटीसी,पिपुल्स पावर,समाज लघुवित्त र जोशी हाईड्रोको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ ।
आज स्वाभिमान लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले घटेको छ ।
त्यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य ५.३६ प्रतिशत,चन्द्रागिरी हिल्सको ३.८३ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ३.५८ प्रतिशतले ओरालो लागेको छ ।