काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ८ महिनाकै न्यून विन्दुमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको संख्यामा देखिएको वृद्धि र कमजोर चिनियाँ आर्थिक आँकडाले तेलको मूल्यमा दबाव परेको हो ।
अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ब्रेन्ट क्रुडको मूल्य ३.४१ प्रतिशत अर्थात २.७१ डलरले घटेर प्रतिब्यारेल ७६.८१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.६६ प्रतिशत अर्थात २.७९ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७३.५२ डलरमा झरेको छ ।
अमेरिकाको अर्थतन्त्रमा जुलाई महिनामा अपेक्षा गरेभन्दा सुस्त गतिमा रोजगारी वृद्धि भएको छ । यस्तै बेरोजगारी दर पनि बढेर ४.३ प्रतिशत पुगेको छ । यो आँकडाले सम्भावित मन्दीको संकेत गरेकाले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको विश्लेषकले बताएका छन् ।
यस्तै विश्वको सबैभन्दा ठूलो तेलको खपतकर्ता चीन लगायत एशिया युरोप र अमेरिकाको उत्पादन क्षेत्रमा आएको कमीका कारण पनि कच्चा तेलको मूल्य घटेको छ ।