काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले विस २०७८ साउन ५ गतेदेखि साउन १९ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ २५ गते बाँडफाँड गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।
लक इन अवधि खुलेसँगै यी सेयरहरु दोस्रो बजारमा खरिद/बिक्री गर्न मिल्नेछ । यद्यपी कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिद/बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।