सोमबार, बैशाख ८,२०८२ 11:41:22
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:41:22
IME remit
Global IME Bank Limited

अड्किएका दुई वैज्ञानिक अन्तरिक्षमा कसरी बसिरहेका छन्, कहिले फर्किन्छन् ?

Hyundai Nepal
अड्किएका दुई वैज्ञानिक अन्तरिक्षमा कसरी बसिरहेका छन्, कहिले फर्किन्छन् ?
Nabil Bank Limited

काठमाण्डौ। गत जुन ५ मा दुईजना अमेरिकी अन्तरीक्षयात्रीहरु एक परीक्षण मिसन अन्तर्गत अन्तराष्ट्रिय स्पेस स्टेशनमा जाँदा उनीहरु केही दिनमै पृथ्वीमा फर्किने अपेक्षा गरिएको थियो। तर घटनाक्रले उल्टो मोड लियो जुन योजना अनुसार अघि बढ्न सकेन। जम्मा ८ दिनमा फर्किने गरेर गएका अन्तरीक्षयात्री ब्यारी बुच विलमोर र सुनिता विलियम्स झण्डै दुई महिना बितिसक्दा पनि अझै अन्तरीक्ष स्टेसनमै रोकिएका छन्। वास्तवमा उनीहरु अनिश्चितकालका लागि अन्तरीक्ष स्टेशनमा अड्किएका हुन्।

अझै लामो समयसम्म अन्तरीक्षमै बस्नुपर्ने सम्भावना छ। अर्थात् आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष उनीहरुले अन्तरीक्ष स्टेसनमै बिताउने बताइएको छ। ६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता बोइंग स्टारलाइनर अन्तरीक्षयानबाट स्पेस स्टेसनमा गएका थिए। अहिले उनीहरु निर्धारितभन्दा बढी समय बसिरहेका छन्। त्यसरी अन्तरिक्षमा मानिस अड्किएको यो पहिलो घटना हो।

यसबारे पृथ्वीमा व्यापक खोज अनुसन्धान गर्दा पनि इन्जिनियरहरूले यो समस्या कसरी भयो भन्ने बुझ्न सकेका छैनन्। यसैबीच कक्षमा गरिएको परीक्षणले अहिले थ्रस्टर्सले राम्रो काम गरिरहेका देखाएको छ। यसले अझ बढी अन्योल थपेको छ। जबसम्म इन्जिनियरहरूमा यो प्रोपल्शन प्रणालीमा विश्वास हुँदैन, तबसम्म विलिअम्स र विल्मोर तत्काल घर फर्कने सम्भावना हाललाई छैन।

त्यसबारे निर्णय लिइसकिएको छैन, तर एउटा सम्भावित परिदृश्य चाहिँ के हो भने उक्त अन्तरिक्ष यानलाई उनीहरूबिना नै पृथ्वीमा फर्काउनुपर्ने हुन सक्ने बताइएको छ। नासाको अन्तरिक्ष सञ्चालन निर्देशक केन बोवेरसोक्सले भने, “गएको एक वा दुई सातामा जे देखिएको छ, चालकदलबिना नै स्टारलाइनर फर्कने सम्भावना केही बढेको छ। तर हामीलाई थाहा छ निश्चित समयमा हामीले बुच र सुनिलाई घर फर्काउनु छ।”

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तर त्यो छिटै नहुन पनि सक्छ। यदि स्टारलाइनर खाली फर्क्यो भने नासाले चार सीट भएको स्पेसएक्स क्रू ड्र्यागन स्पेसक्र्याफ्ट पठाउने योजना बनाएको छ, जसमा दुई जना मात्र अन्तरिक्षयात्री हुनेछन्। विलिअम्स र विल्मोर अन्तर्राष्ट्रिय स्टेशनमा फेब्रुअरी २०२५सम्म बस्ने छन् र यो नयाँ यानमा फर्कने छन्।अहिले आईएसएसमा कार्यरत नासाका अन्य चार अन्तरिक्षयात्री सेप्टेम्बरमा पृथ्वीमा फर्कने योजना छ। आईएसएसमा नियमित रूपमा बस्ने चार र तीन जना रुसी अन्तरिक्षयात्रीसहित आईएसएसमा सात जना रहने छन्।

“उनीहरू माथि आईएसएसमा रहँदा हामीसँग थप मानवस्रोत उपलब्ध हुनेछ र उनीहरूले त्यहाँ धेरै काम गर्न सक्ने छन्। तर त्यसको अर्थ उनीहरूले त्यहाँ भएका खानेकुरा पनि धेरै सिद्ध्याउने छन्,” बोवेरसोक्स भन्छन्, “त्यसैले हामीले त्यहाँ नियमित रूपमा राख्न सकिने सङ्ख्या मात्र राख्नुपर्ने हुन्छ। “अन्तरिक्ष स्टेशनमा खासमा अहिले सात शयनकक्ष र तीन बाथरूम छन्,” सन् २०२०( २०२१ मा आईएसएसमा छ महिना समय बिताएका नासाका अन्तरिक्षयात्री भिक्टर ग्लोभरले स्पेस बफिन्स पड्कास्टलाई जुन महिनामा स्टारलाइनर प्रक्षेपण गर्नुअघि भनेका थिए।

त्यहाँ पानी टन्न छ। हालै पठाइएका खानेकुराका कारण त्यहाँ त्यसको पनि कमी छैन। त्यहाँभित्र केही भिडभाड भए पनि त्यहाँबाट तल पृथ्वीको दृश्य मन्त्रमुग्ध पार्ने किसिमको छ। अन्तरिक्षयात्री निकोल स्कोटले एक पटक भनेकी थिइन् कि तल हेर्दा देखिने निलो गुच्चा जस्तो पृथ्वी हेर्दाहेर्दै मग्न भएर काममा फर्कनका लागि उनले अलार्म नै राख्नुपरेको थियो।

“अन्तरिक्षयात्रीहरू त्यहाँ खुसीसाथ बसिरहेका छन्” अन्तरिक्षसम्बन्धी समाचार छाप्ने स्पेसअपक्लोजुका संस्थापक तथा सम्पादक केन क्रेमरले भने, “धेरै मानिसले उनीहरू त्यहाँ फसेको न्ठान्छन्, तर त्यस्तो हैन।” “त्यसो भन्नुको अर्थ त्यहाँको समस्याहरूलाई कम आँक्न खोजिएको होइन, तर ती अन्तरिक्षयात्रीको यो यात्रा आठ दिनको हुन नै हुँदैनथ्यो,” क्रेमरले भने। “उनीहरू दुवैले यसअघि छमहिने अन्तरिक्षयात्रा गरिसकेका छन् त्यसैले उनीहरूको यात्राको अवधि पहिले नै लामो तय गरिनुपर्थ्यो।”

तर अन्तरिक्षयात्रीहरू उच्च तालिम प्राप्त व्यक्ति हुन् र उनीहरू हरेक परिस्थितिका लागि तयार व्यक्ति हुन्। “हामी व्यावसायिक रूपमा नै खतरा मोल्ने मानिस हौँ,” ग्लोभर भन्छन्। हामी त्यस्ता खतरा कम गर्ने उपाय अवलम्बन गर्छौँ तर अन्तरिक्षमा जाने भनेको खतरामुक्त काम होइन।” विलिअम्स र विल्मोर नासाका सबभन्दा अनुभवी दुई अन्तरिक्षयात्री हुन्। अनि योजनाकारहरूले उनीहरूको त्यहाँको उपस्थितिको उचित उपयोग गर्न खोजिरहेका छन्।

उनीहरूलाई दैनिक समय तालिकामा राखेर स्टारलाइनर परीक्षणमा उपयोग गर्न खोजिराखेका छन्। ती अन्तरिक्षयात्रीले स्टेशन सफा राख्न, अन्तरिक्ष पोसाक मर्म सम्भार गर्न, वैज्ञानिक परीक्षणहरू गर्न र ‌ओलिम्पिक तालिमुका लागि समय पनि निकालेका छन्। “उनीहरू विशेष चालकदल हुन्, विशेष अन्तरिक्षयात्री हुन् र स्टारलाइनर उडाउन सक्षम पनि,आईएसएसकी निर्देशक डाना वेइगेलले यो महिनाको सुरुमा एक ब्रिफिङमा भनेकी थिइन्।

“हामीसँग सधैँ एउटा योजनामा समस्या उत्पन्न भए के गर्ने भन्ने दोस्रो योजना पनि हुन्छ। उनीहरू पूर्ण रूपमा तालिमप्राप्त छन् र उनीहरू अबको बाटो के भन्नेमा तयार पनि छन्।” वैज्ञानिक परीक्षण गर्नु बाहेक ती अन्तरिक्ष यात्रीहरूको स्टेशनको ज्ञान र आन्तरिक कुराहरूको ज्ञानका कारण उनीहरूलाई तुरुन्तै त्यहाँ गर्नुपर्ने बन्दोबस्तीका कामहरू जस्तो कि कार्गो तयार पार्ने, के के खानेकुरा छ भनेर जाँच्ने र उपकरण राखिएका र्‍याकहरूको गहिरो सरसफाइ गर्ने काम पनि दिइएको छ। गुरुत्वाकर्षण न्यून भएका ठाउँमा उपयोगमा आउने उनीहरूको प्लम्बिङ दक्षताको पनि उपयोग गरिएको छ।

स्टेशनमा साधरणतया अन्तरिक्षयात्रीको पसिना र पिसाब पुनर्प्रयोगमा ल्याएर पानी बनाइन्छ। तर त्यसका लागि चालकदलले पिसाब भण्डारण गर्नुपर्छ। त्यो अलि कोचाकोचको स्थितिमा त्यति राम्रो कुरा त होइन। हालै आवश्यक सरसामग्री लग्दा उनीहरूसँग लगिएका स्पेअर पार्ट्स र थप उपकरणको सहयोगमा विलिअम्स र विल्मोरले समस्या आएका प्रणाली मर्मतसम्भारमा प्रयोग गरेका छन्।

जब सोभियत अन्तरिक्षयात्री सेर्गेइ क्रिकलेभ मे १९९१ मा अन्तरिक्ष स्टेशन मिरुको यात्रामा गएका थिए, उनले कक्षमा केही महिना बिताउनुपर्ने ठानेका थिए। त्यो यात्राको सुरुका हप्ताहरू त योजनाअनुरूप नै भइरहेका थिए र त्यसमा ब्रिटिश अन्तरिक्षयात्री हेलेन शर्मनलाई पनि संलग्न गरिएको थियो। तर तल पृथ्वीमा उनको देश टुक्रिँदै गइरहेको थियो।

अगस्टमा मस्कोका सडकहरूमा ट्याङ्कहरू गुडिरहेका थिए र सोभियत नेता मिखाइल गोर्भाचोभविरुद्ध कम्युनिस्ट कट्टरपन्थीहरूले कू प्रयत्न गरेका थिए। क्रिकलेभले मलाई भने, “मेरी श्रीमती मिशन कन्ट्रोलको काम गर्थिन्। उनीहरू हाम्राबारे चिन्तित थिए र हामी उनीहरूबारे चिन्तित थियौँ दोहोरो चिन्ता।” उनीसँग सन् २०१९ मा मस्कोमा भेटेका बेला भएका कुरा हुन् यी।

चार महिनापछि सोभियत यूनियन सम्पूर्ण रूपमा तहसनहस भयो। माथि सामान पुर्‍याउने यानहरू चलिरहेका भए पनि क्रिकलेभ र उनका सहकर्मी एलेक्सान्डर भोल्कोभ कहिले फर्किन पाउने हुन् भन्नेबारे शङ्काहरू थिए। सोभियत प्रक्षेपणस्थल र अवतरणस्थल नयाँ र स्वतन्त्र देश कजकस्तानमा परेका थिए र रुसी सरकारले अन्तरिक्ष कार्यक्रम जारी राख्न एक सम्झौता गर्नुपर्थ्यो।

मलाई क्रिकलेभले भनेका थिए,“हामीलाई अन्तरिक्ष स्टेशनमा बिर्सिइयो भनेर भनिएका सबै कथा मैले सुनेँ। तर त्यो सत्य थिएन किनभने हामी हरेक दिन पृथ्वीस्थित केन्द्रका मानिससँग कुराकानी गरिरहेका हुन्थ्यौँ। खाना, पानी र परीक्षणका लागि आवश्यक सामग्री नियमित रूपमाआपूर्ति भइरहेका हुन्थ्यो।” 

सोभियत यूनियन छोडेपछि एक वर्ष कक्षमा बिताएर अन्तरिक्षयात्री उनको नयाँ देश रुसमा फर्के। नयाँ परिवर्तनका कारण उनी अन्तरिक्षयानमा चढ्ने पहिलो रुसी र आईएसएसमा बस्ने पहिलो चालकदलका सदस्य बनेका थिए। अहिलेको पछिल्लो स्थितिको स्पष्ट कुरा के हो भने अहिले कोही पनि आत्तिएका वा चिन्तित छैनन् र स्टारलाइनरको स्थिति के छ भन्नेबारे तथ्य सङ्कलन भइरहेको छ।-एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.