काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्। (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए।
आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु प्रयोग गर्दै कुलमानलाई सबैभन्दा धेरै भ्रष्टाचार गरेको भन्दै आरोप लगाएका थिए। खरेल केही समय यता स्पेस फोर के टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
कुलमानले आफ्नो लोकप्रियताको आडमा ठेक्कापट्टामा सेटिङ गरेर करोडौं कुम्ल्याएकोदेखि विद्युत प्राधिकरणको नक्कली नाफा देखाएर सरकारलाई धोकामा राखेको जस्ता आरोपहरु लगाइएको छ।