काठमाण्डौ। स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना ४५ वर्षीय रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने बताएका छन्। ४ वटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा जन्मिएसँगै उनी आफ्नो भ्यासेक्टोमी गरिदिने अस्पताल विरुद्ध अदालत जाने बताएका हुन्।
रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले आफ्नो चौथो बच्चा भएसँगै सन् २०२२ मा भ्यासेक्टोमी गरेका थिए ताकि उनकी पत्नी पुनः गर्भवती नहोउन्। त्यसका लागि उनी स्थानीय प्रोमेडिटसिना नामक बन्ध्याकरण क्लिनिक गएका थिए। जहाँ ३० हजार रुबल्स तिरेर उनले शल्यक्रिया गराएका थिए।
सो शल्यक्रिया सफल भएको थियो र उनलाई केही घण्टामै क्लिनिकले डिस्चार्ज गरेको थयो। सबै चिज सामान्य रुपमा अघि बढिरहेको थियो। तर गत वर्ष उनकी पत्नीले एक्कासी आफु गर्भवती भएको बताएपछि उनी झसँग भए।
अन्ततः गत नोभेम्बरमा उनकी पत्नीले पाँचौँ बच्चा जन्माइन्। त्यसपछि उनी आफ्नो भ्यासेक्टोमी गरिदिने क्लिनिकमा गए र शल्यक्रियापछि पनि किन बच्चा रह्यो भनेर सोधे ? तर सो अस्पतालले उल्टै बच्चाको पितृत्व र उनको विर्यजाँच गर्न सुझाव दियो।
उनले ती दुबै परीक्षण गर्दा बच्चा उनकै रहेको र उनी अझै पनि उच्च प्रजननशील रहेको पत्ता लाग्यो। अस्पतालले भ्यासेक्टोमीमा आफ्नो गल्ती भएको स्वीकार गर्नुको साटो त्यसलाई चिकित्सा क्षेत्रको चमत्कार भएको भन्दै त्यसरी बाबुु बन्न सफल भएकोमा गर्व गर्न भन्यो।
साथै अस्पतालले उनलाई विवाद अगाडि नबढाउन भन्दै शल्यक्रिया गर्दा लागेको ३० हजार रुबल्स फिर्ता गर्ने बतायो। तर म्याक्सिमले भने अस्पतालको त्यस्तो प्रस्ताव अस्वीकार गरे। उनी र उनको परिवार सो क्लिनिक विरुद्ध क्षतिपूर्तिको माग गर्दै अदालतमा जाने निर्णय गरेका छन्। –एजेन्सी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।