काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९२ अंक अर्थात ०.२३ प्रतिशतले बढेर २ हजार ०९०.६४ बिन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ३७७.९५ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजार बारे बजार जानकार प्रेम वली भन्छन्,‘आज कारोबार सामान्य बढेको छ । तर बजारमा उत्साह भने आउन सकेन । लगानीकर्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेर बसेका छन् । यसकारण लगानीकर्ताले सस्तोमा सेयर बेच्न चाहेनन् र आज पनि बजारमा मौलमलाई नै चल्यो ।’
अर्का बजार जानकार नयन बास्तोला भन्छन्,‘लगानीकर्ताले अर्धवार्षिक समीक्षा कुर्दा बजारले सोचे अनुरुप गति लिन नसकेको हो । लगानीकर्ताले मौद्रिक समीक्षामार्फत जोखिम भार घटाउने र १५/२० को क्याप हट्ने अपेक्षा गरेका छन् । ’
आज नेप्सेमा सूचीकृत १३ वटा उपसूचकमध्ये ७ वटामा हरियाली छायो भने अन्यमा रातो पोतिएको छ । आज होटल उपसूचकमा सबैभन्दा वृद्धि देखिएको छ । होटल उपसूचक १.५० प्रतिशतले बढेको आज बैंकिङ ०.२६,विकास बैंक ०.३०,हाईड्रो ०.९४, लगानी ०.४०,जीवन बीमा १.२९ र म्युचुअल फण्ड ०.४२ प्रतिशतले बढे ।
यो दिन वित्त उपसूचक ०.०४,उत्पादन तथा प्रशोधन ०.१७,निर्जीवन बीमा ०.३९ अन्य १.५३ र व्यापार उपसूचक ०.१२ प्रतिशतले घटे । लघुवित्त उपसूचक पनि ०.१८ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज पनि हिमालयन रि इन्स्योरेन्सको सार्वधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २४ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै,रिलायबल नेपाल लाइफको ६ करोड २४ लाख,ङादी ग्रुपपावरको ६ करोड ५९ लाख,हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनिरल्सको ५ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज गुराँस लघुवित्त,समाज लघुवित्त,बुद्धभुमी नेपाल हाईड्रोपावर र इस्टर्न हाईड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
त्यसैगरी एशियन हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत,पिपुल्स पावरको ६.३९ र ईङवा हाईड्रोको सेयरमूल्य ६.०१ प्रतिशतले बढ्यो ।
आज युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.२५ प्रतिशतको गिरावट आएको छ ।