काठमाण्डौ। क्षुद्रग्रह खसेर डायनासोर लोप भएको बताइएको छ। वैज्ञानिकहरूका अनुसार मेक्सिकोको युकाटान प्रायद्वीपमा खसेको लगभग दस किलोमिटर चौडा क्षुद्रग्रहले ल्याएको प्रलयका कारण डायनासोर लोप भएको जनाइएको छ। त्यति बेला खसेको क्षुद्रग्रह ब्रह्माण्डको कुन भागबाट आएको थियो र त्यो समय पृथ्वीमा कुन कुन जीवजन्तु थिए भन्नेबारे वैज्ञानिकहरूले निरन्तर अध्ययन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मिडिया द न्यूयोर्क टाइम्सका अनुसार यस्तै एक अध्ययन जर्मनीको कोलोन विश्वविद्यालयका वैज्ञानिक मारियो फिसर-गोडको नेतृत्वमा गरिएको थियो। साइन्स जर्नलमा गत साता मात्र प्रकाशित सो अध्ययनले उक्त क्षुद्रग्रह बृहस्पति (जुपिटर) ग्रहको कक्ष पारिबाट आएको भन्ने मत झन् बलियो बनाएको छ।
पृथ्वीमा आइपुग्ने क्षुद्रग्रह मुख्यतया दुई प्रकारका हुन्छन्स सिलिकन धेरै भएका (एस-टाइप) र कार्बन धेरै भएका (सी-टाइप) एस-टाइप क्षुद्रग्रह सी-टाइपको तुलनामा सूर्यको नजिक बनेका हुन्छन्। सी-टाइप क्षुद्रग्रह एस-टाइपभन्दा पहिल्यै बनेका हुन्। पृथ्वीतिर आउने क्षुद्रग्रह मुख्यतया एस-टाइपका हुन्छन्। यी क्षुद्रग्रह मंगल ग्रह र बृहस्पति ग्रहको बीचमा रहेको एस्टरोयड बेल्टु बाट आउँछन्।
वैज्ञानिक फिसर-गोडको टोलीले गरेको अध्ययनले डायनासोर लोप गराउने क्षुद्रग्रहमा कार्बन धेरै भए (कोसी-टाइपको) देखाएको छ। उनको टोलीले डायनासोर लोप गराउने सो क्षुद्रग्रह ठोक्किएर खाल्डो पारेको मेक्सिकोको युकाटान प्रायद्वीपमा रहेको चिकशुलुब भन्ने ठाउँमा खोज गरेको थियो।
सो ठक्करबाट चोइटिएका क्षुद्रग्रह र जमिनका टुक्राहरूबाट पृथ्वीमा ढुंगाको तह बनेको थियो। वैज्ञानिकहरूले त्यही ढुंगामा विभिन्न दुर्लभ तत्वहरू खोजेर ठोक्किएको पिण्डबारे अनुसन्धान गरिरहेका छन्।
अनुसन्धाता फिसर-गोडको टोलीले उक्त ठाउँमा रूथेनियम नामक तत्व खोजेको थियो। उनीहरूले पृथ्वीका अन्य भागमा खसेका क्षुद्रग्रहमा भेटिएको रूथेनियमको मात्रासँग तुलना गरे र सो क्षुद्रग्रह सी-टाइपको भएको पत्ता लगाए।
त्यसमा जुन मात्रामा रूथेनियम भेटिएको छ, त्यसले त्यो सी-टाइपको क्षुद्रग्रह बाहेक अरू केही नभएको पुष्टि भएको फिसर(गोडले ठोकुवा गरेका छन्।
त्यस्तै अहिलेसम्म थाहा भएअनुसार, चिकशुलुबको क्षुद्रग्रह नै पृथ्वीमा आएको एक मात्र सी-टाइप क्षुद्रग्रह भएको दाबी पनि उनले गरेका छन्।
बृहस्पति ग्रहको पारिपट्टि बनेको त्यो क्षुद्रग्रह कसरी पृथ्वीमा ठोक्कियो भन्नेबारे चाहिँ खुलेको छैन। तर वैज्ञानिकहरूले बृहस्पति पारिको त्यो क्षुद्रग्रह गुरूत्वाकर्षणमा अस्थिरता हुँदा एस्टरोयड बेल्टबाट पृथ्वीतर्फ आएको अनुमान गरेका छन्। -एजेन्सी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।