काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७४ अंक अर्थात ०.२७ प्रतिशतले बढेर २ हजार ०९६.३८ बिन्दुमा पुगेको छ ।
यो सँगै बजार लगातार चार दिन बढेको छ । चार दिनको अवधिमा बजारमा ३४.६१ अंकको बढोत्तरी आएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ३७८.६४ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा सूर्य नारायण पौडेल भन्छन्,‘यो साताभारी नै लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसे । त्यसैले बजारमा ठूलो उतारचढाव भएन ।’
उनका अनुसार अहिले बजारमा ट्रेडरहरु हावी छन् । बजार बढ्नलाई बैंकहरु नै बढ्नुपर्ने पौडेलको धारणा छ । आज ३ अर्ब माथिको कारोबार हुनुले बजारमा सेयर जम्मा गर्ने क्रम पनि बढेको उनले बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टको विचारमा पनि लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेका छन् । उनले थपे,‘लगानीकर्तामा राष्ट्र बैंकप्रति विश्वास नहुँदा बजार बढ्न नसकेको हो ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा उपसूचक बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज हाईड्रो समूहमा सबैभन्दा धेरै अर्थात १.४४ प्रतिशतको वृद्धि देखिएको छ ।
त्यस्तै विकास बैंक उमूह ०.६३,वित्त ०.१७,होटल ०.३३,लगानी ०.०९,उत्पादन तथा प्रशोधन ०.२६,लघुवित्त ०.५५,निर्जीवन बीमा ०.३८ र व्यापार समूह १.१२ प्रतिशतले बढे ।
यो दिन बैंकिङ समूह ०.०४,जीवन बीमा ०.११,म्युचुअल फण्ड १ र अन्य समूह ०.६६ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज पनि हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यो दिन कम्पनीको १८ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख,अपि पावरको ७ करोड ७५ लाख ङादी ग्रुप पावरको ७ करोड ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ करोड ९२ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज समाज लघुवित्त,वृद्धभुमी नेपाल हाईड्रो र त्रिशुली विद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । यी कम्पनीहरुको सेयरमूहल्य क्रमशः१०,९.९९ र ९.८४ प्रतिशतले बढ्यो ।
त्यस्तै मायोखोला हाईड्रोपावरको सेयरमूल्य ७.७८,स्वेत गंगा हाईड्रोपावरको ७.४९ र इङग्वा हाईड्रोको सेयरमूल्य ७.३६ प्रतिशतले बढ्यो ।
आज गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.६६ प्रतिशतले घट्यो ।