काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा असोज ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित रु १०० का दरले रु ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधन, अग्राधिकार सेयर जारी,दर्ता तथा सूचीकरण गर्ने लगायतका सोसँग सम्बन्धित कार्यहरु स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतका संशोधन तथा फेर बदल गर्न विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक वित्तीय विवरण,असार मसान्त २०८१ को वासलात, आव २०८०/०८१ को नगद प्रवाह विवरण, नाफा र नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                