काठमाण्डौ । सेयर लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति निकालेर पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी गर्दै यसको निश्पक्ष छानबिनको माग गरेका छन् ।
जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गरी पूँजीबजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएको उल्लेख गर्दै तत्काल छानबिनको माग गरेका हुन् ।
'पूँजीबजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु छैनन् ।' विज्ञप्तिमा भनिएको छ-'पूँजीबजारलाई स्वतन्त्र र निश्पक्ष ढंगबाट सञ्चालन गर्नका लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताका लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गर्दछौं । साथै लगानीकर्ताहरुको कसैको लहै लहैमा नलागी सुझबुझपूर्ण ढंगले कारोबार गर्न र पूँजीबजा सुधारका लागि एकजुट भएर अगाडि बढ्नका लागि समेत अनुरोध गर्दछौं ।'