काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको ३ करोड ६ लाख कित्ता संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरुको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको ३ लाख ६० हजार कित्ता गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ कात्तिक १२ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष कात्तिक ११ गते समाप्त हुने भएकाले उक्त अवधिभर लक इनमा रहेको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।