काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाई अनिल अम्बानीको ध्यान यतिबेला ऋणबाट मुक्त हुनुका साथै कारोबार विस्तारमा रहेको छ ।
यस क्रममा अनिल अम्बानीले भुटानमा एउटा ठूलो सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको कम्पनीले भुटानमा १२ सय ७० मेगावाटको सौर्य र जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसका लागि अनिलले नयाँ कम्पनी नै स्थापना गरेका छन् । कम्पनीको नाम रिलायन्स इन्टरप्राइजेज रहेको छ । कम्पनीले भुटान सरकारको इन्भेष्टमेन्ट युनिट ड्रुक होल्डिङ इन्भेष्टमेन्ट लिमिटेडसँग सम्झौता गरेको छ ।
यो कम्पनीले भुटानमा ५०० सय मेगावाटको सौर्य प्लान्ट स्थापना गर्नेछ । जुन भुटानको सबैभन्दा ठूलो सौर्य प्लान्ट हुनेछ । यसका अलावा कम्पनीले ७७० मेगावाटको चम्खुरचु–१ जलविद्युत समेत आयोजनामा समेत लगानी गर्नेछ ।
अनिलको नयाँ कम्पनी सेयर बजारमा सूचीकृत रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेड र रिलायन्स पावरद्वारा संयु्क्त रुपमा प्रवद्धित हुनेछ ।
यो खबर बाहिरिएसँगै रिलायन्स इन्फ्रा र रिलायन्स पावरको सेयरमूल्यमा उछाल आएको छ । बुधबार रिलायन्स पावरको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले बढेृृको थियो । यो कम्पनीको सेयरमूल्यमा पछिल्लो १० कारोबारमा लगातार अपर सर्किट लागेको छ ।
यस्तै रिलायन्स इन्फ्राको सेयरले पनि लगानीकर्तालाई एक महिनाको अवधिमा ६७ प्रतिशत प्रतिफल दिएको छ ।