काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, आर्थिक वर्ष २०८०÷८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।