काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यो साता पनि हामीले पोखराका विभिन्न ब्रोकरहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज हामीले पोखराका केही सेयर कारोबारी बैंकर तथा र अन्य व्यापारीहरुसँग सेयर बजारको विषयमा बुझेका छौं । आज पोखराको ब्रोकर हाउसहरुमा चाडपर्व तथा बजारमा उत्साह नभएको कारण खासै लगानीकर्ताहरु भेटिदैनथे ।
आज हामी सबै भन्दा पहिले त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८ )मा पुग्यौं । यहाँ लगानीकर्ताको खासै उपस्थिति थिएन । हामीेले केही समय ब्रोकर सञ्चालकसँग भलाकुसारी गर्यौं । यस ब्रोकरका सञ्चालकले अहिलेको राजनीतिक कारणले नै लगानीकर्ताहरुले ढुक्क भएर लगानी गर्न नसकेको तर्क गरे । लगानीकर्ताहरुमा विश्वास नै नभएको कारण बजारले गति लिन नसकेको उनको बिचार थियो । यद्यपी तिहार पछि बजारले गति लिनेमा उनी केही आशावादी देखिए ।
केही समयपछि हामी न्यूरोडमा नै रहेको प्रिमयर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । पोखरामा मध्यान्ह गर्मीले सडक तात्दै थियो भने सेयर बजारमा पनि गिरावट जारी थियो । यस ब्रोकरमा भने मुस्किलले २ जना लगानीकर्ता भेटिए । एक जना लगानीकर्ताले आफू नयाँ लगानीकर्ता रहेको र आईपीओ बेच्न आएको प्रतिक्रिया दिए । तर अहिले बजार घटेको कारण ब्रोकरले नबेच भनेपछि बजार हेरेर बसेको उनले प्रतिक्रिया दिए । उमेरले ७० बर्ष पुगेका, कपाल फुलेर सेतै भएका उनीसँगै बसेका अर्का एक लगानीकर्ता पनि यस ब्रोकर हाउसमा भेटिए । ती लगानीकर्ताले भने अहिले बजार घट्नुमा आन्दोलन नै मूख्यकारण रहेको तर्क गरे ।
उनले पोखराबाट आन्दोलन काठमाण्डौ तथा चितवन सदै–सर्दै गएको बताए । ‘राजनीतिक विषयमा प्रष्ट नभसम्म सेयर बजार बढ्दैन । अहिले किनेर पर्खन सक्नेलाई त ठीकै होला तर कारोबारीलाई भने कठिन नै छ, उनले भने । उनले यसो भन्दे गर्दा बजार निरन्तर घटिरहेको थियो । ब्रोकर हाउसमा फोनका घण्टीहरु बज्दै थिए । हामी यहाँबाट न्यूरोडमा नै रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो ।
यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आफूहरु ग्रुपमा लो क्याप भएका जलविद्युत कम्पनीमा खेल्ने गरेको बताए । उनले बजार घटबढ स्वाभाविक रहेको भन्दै भने, ‘हामीले त लो क्याप भएका जलविद्युत कम्पनीहरु जस्तै, मकर जीतूमाया , सानिमा मिडिल तमोर ,अपर लोहरे खोलो, साहस उर्जा जस्ता कम्पनीका सेयर किनबेच गरेर राम्रै आम्दानी गरिरहेका छौं । आफूलाई प्राविधिक पक्षको समेत ज्ञान रहेको तर्क गर्ने ति लगानीकर्ताले पनि बजार २६ सय विन्दुबाट धेरै तल नजाने तर्क गरे । उनले भने, ‘बजारमा नेप्से केही तल जान सक्छ भन्ने पनि सुनिन्छ । तर मलाई बजार धेरै तल जान्छ जस्तो लाग्दैन ।’
यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार दिनभर घटेर सम्हालिने प्रयास गर्दै थियो । हामी भने अर्को एक ब्रोकर हाउस, इन्भेष्टमेन्ट म्यानेजमेन्ट (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौ. । यस ब्रोकरमा पेशाले बैंकर लगानीकर्ता भेटिए । उनले बैंकमा खासै कर्जाको माग बढ्न नसको तर्क गरे । ‘पुराना व्यापारीलाई बैंकले कर्जा दिएको छैन, नयाँ मान्छे नयाँ व्यापार लिएर आएकै छैन । जसका कारण कर्जाको माग बढ्नै सकेको छैन । अन्य व्यापार सुस्त हुँदा र कर्जाको माग पनि सुस्त हुँदा सेयर बजारले पनि सोचे जसरी गति लिन सकेको छैन’ उनले भने ।