काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।
उक्त सभा पुस २७ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु १ लाख भन्दा बढिको खर्च अनुमोदन गर्ने, सञ्चालकको दैनिक भत्ता सम्बन्धी व्यवस्था, ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल रष्ट्र बैंकबाट स्वीकृत लिने र कम्पनीको प्रवन्धपत्रमा आवश्यक परिमार्जन÷ संशोधन तथा थप गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।