बुधबार, माघ २३,२०८१ 10:33:31
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:33:31
IME remit
Global IME Bank Limited

फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !

बजारका लगानीकर्ता सधैं तर्सिने, ठूलाले यही मौकामा कुस्त कमाउने

Hyundai Nepal
फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने ‘बेमौसमी बाजा’ फेरि बजाउन थालिएको छ । कांग्रेसभित्रको केही असन्तुष्ट नेता र पक्षहरुको गतिविधिलाई आधार बनाएर केपी ओली नेतृत्वको सरकार ढल्नै लागेको भन्दै बजारमा हल्ला व्यापक बनाइएको छ । यसैको बाहानामा ठूला खेलाडीहरुले सेयर बजारमा सर्वसाधारणलाई तर्साएर सस्तोमै राम्रा कम्पनीको कित्ता खोसिरहेका छन् । अनि सर्वसाधारण लगानीकर्ता पनि सत्ता गठबन्धन भत्किने हल्लालाई पत्याएर आफ्नो सम्पत्ति गुमाएरै भए पनि सेयर बिक्री गर्ने हतारोमा लागेका छन् ।  

बजारमा सुनियोजित रुपमा हल्ला चलाइएजस्तो के वर्तमान सत्ता गठबन्धन भत्किनै लागेको हो त ? ओली नेतृत्वको सरकार ढल्नै लागेको हो त ? यस विषयमा आज हामीले फ्याक्ट चेकको प्रयत्न गरेका छौं । 

Bizshala
CG Motors
Sagarmatha Cement

कांग्रेसमा शेखर पक्षको 'सदाबाहर रडाको'

नेपाली कांग्रेसमा केही सांसदहरुलाई साथमा लिएर अहिले शेखर कोइरालाले रडाको मच्चाइरहेका छन् । ‘रवि लामिछानेमाथि अन्याय भएको’ भन्दै कोइराला पक्षले सरकार ढाल्न गरिरहेको प्रयत्न चाहिँ सत्य हो । तर, यहाँनेर बुझ्नुपर्ने कुरा चाहिँ शेखर पक्षले यसअघि पनि सरकार ढाल्ने प्रयत्न गरेको थियो कि थिएन, त्यसबेलाका प्रयत्नहरु प्रभावकारी भएका थिए कि थिएनन् वा शेखर कोइराला पक्षको दम सरकार ढाल्ने खालको छ कि छैन भन्ने हो ।  

शेखर कोइराला पक्षले कांग्रेस महामन्त्री गगनकुमार थापाको साथ लिँदा पनि देउवा पक्षलाई हल्लाउन नसकेको इतिहास ताजै छ । पछिल्लो परिस्थिति अझ देउवाअनुकूल छ, अर्थात हिजो शेखर पक्षमा रहेका र उनलाई साथ दिने गगन थापा अहिले देउवाको कित्तामा उभिएका छन् । देउवाले पार्टीको भावी नेतृत्वको रुपमा गगनलाई अगाडि सारेपछि अवस्था फेरिएको छ । हिजोजत्तिको पनि छैन अहिले शेखर समूहको दम ।  

कांग्रेसभित्रका उच्च स्रोतहरुकाअनुसार शेखर समूह पछिल्लो समय झनै कमजोर बनेको छ । यो समूहमा भ्रष्टाचार आरोपमा मुछिएका बालकृष्ण खाँडको साथ र सहयोग छ, तर खाँड आफैंसँग आधादर्जन सांसद समेत छैनन् । रवि लामिछाने प्रकरणका कारण पछिल्लो समय धनबहादुर गुरुङ, सांसद सुनिलकुमार शर्मा, चन्द्र भण्डारी लगायतका नेताहरु शेखर कोइरालासँग निकट छन् । यीमध्ये अधिकांश पहिलादेखि पनि शेखर समूहमै रहेका वा सद्भाव राख्ने नेताहरु हुन् ।  

यसबाहेक प्रभावशाली भनिएका कांग्रेसका कुनै पनि नेताले देउवाको साथ छाडेका छैनन् । बरु उल्टै गगनकुमार थापा लगायतको साथ देउवालाई थपिएको छ । यसकारण कांग्रेसमा देउवा थप शक्तिशाली बनेका छन् ।  

कांग्रेसका एक पदाधिकारी तहका नेताले भनेअनुसार यदि शेखर पक्षले संसदीय दलको नेता फेर्ने अभियान सफल बनाउने हो भने देउवाको कोर टिममा रहेकामध्ये करिब २० जना सांसदलाई आफ्नो पक्षमा पार्नुपर्छ । जुन सम्भव नै छैन । ‘देउवा खेमाबाट २० त के २–३ जना सांसद समेत आफ्नो पक्षमा पार्ने हैसियतमा छैन कोइराला समूह ।‘ ती नेताले भने–‘त्यसकारण देउवालाई संसदीय दलको नेताबाट फाल्ने र आफैं प्रधानमन्त्री हुने गरी साना दल मिलाएर सरकार गठन गर्ने शेखर दाईको सपना कोरा कल्पना मात्र हो । कुवाभित्रको भ्यागुता कराएको मात्र हो, त्यहाँबाट बाहिर निस्किने तागत छैन।’  

ती नेताकाअनुसार अहिले पनि कांग्रेसमा ८५ प्रतिशत बढी पकड सभापति देउवाकै छ । गगन थापाको शक्तिलाई पनि जोड्ने हो भने देउवा गगन समूहको शक्ति अहिले पार्टीभित्र ९० प्रतिशत हाराहारी छ । यस्तो अवस्थामा कोइराला पक्षको विरोध, रडाको र चलखेलले सरकार नै तलमाथि गराउनसक्ने हैसियत नराख्ने उनी बताउँछन् । पार्टीभित्रको १० प्रतिशत शक्तिले अहिले नै केही हुने सम्भावना नै छैन ।  

यी दुईले चाहेसम्म केही हुँदैन

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समेत अन्य नेताहरुले गरेको विश्लेषणसँग मिल्दोजुल्दो धारणा व्यक्त गरेका छन् । उनले पनि अहिलेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेमा मात्र सरकार ढल्ने र अरुले चाहदैमा र उफ्रिदैमा केही नहुने विश्लेषण सुनाएका छन् । ‘मेरो बुझाईअनुसार सरकार ढल्ने वा ढाल्ने भन्ने कुरा बेमौसमी बाजा हो । यो सबै वाहियात हल्ला हो ।’ गगन थापाको कोर टिममा रहेर काम गरिरहेका नेता शिवाकोटीले भने–‘शेरबहादुर दाई वेटिङ प्राइमिनिस्टर हो । अब केही महिनापछि उहाँकै नेतृत्वमा एमालेसहितको सरकार बन्ने पहिलै सहमति भइसकेको कुरा हो । अहिलेको अवस्थामा शेरबहादुर दाई र केपी ओलीजीले यो गठबन्धन फुटाउने कुनै सम्भावना नै छैन । उहाँहरु त अझ बलियो बनेर अगाडि बढ्नुहुँदैछ । देशमा अस्थिरता चाहने शक्तिले त सधैं यस्तै यस्तै हल्ला मच्चाइरहने हो । यसको पछाडि अरु कुद्नुहुन्न ।’  

अर्को अनुमान

कतिपयले भने भारतले ओली नेतृत्वको सरकारलाई सकारात्मक ढंगले नहेरेका कारण गठबन्धन टुट्ने अनुमान गरिरहेका छन् । तर, कांग्रेस नेताहरुकै भनाईलाई आधार मान्ने हो भने यसमा पनि दम छैन ।  

पछिल्लोपटक कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू देउवाले दिल्लीमा दिएको ‘गठबन्धन जोगाउनलाई बीआरआईमा हस्ताक्षर गरेको’ भन्ने अभिव्यक्तिलाई लिएर समेत भारत समेत वर्तमान गठबन्धन सरकार ढाल्ने प्रयासमा छ भन्ने विश्लेषण गरिएको देखिन्छ । तर, भारतले चाहँदैमा वर्तमान सरकार ढल्दैन । देउवा र ओलीले नचाहेसम्म यो सरकार ढल्दैन । गठबन्धन सरकार जोगाउनैका लागि बीआरआईमा हस्ताक्षर गर्न बाध्य बनिएको भन्ने देउवापत्नीको भनाईलाई नै आधार मान्ने हो भने पनि देउवा वर्तमान अवस्थामा सत्ता गठबन्धन जोगाउन जस्तोसुकै कसर पनि बाँकी नराखी अगाडि बढिरहेका छन् भन्ने प्रष्टिन्छ । सानातिना मूल्य चुकाएरै भए पनि अहिलेको सरकार जोगाउने पक्षमा देउवा छन् भन्ने कुरामा पनि यसबाट बुझ्न सकिन्छ ।  

फेरि सार्वजनिक समारोहहरुमा देउवाले केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्ने गरेका छन् । ओलीले चीनबाट फर्किएलगत्तै केही  मन्त्रीहरु फेरौं भन्दा समेत देउवाले पब्लिकमा गलत सन्देश जाने भन्दै अस्वीकार गरेका थिए । यसबाट समेत वर्तमान सत्ता गठबन्धन जोगाएरै जाने देउवाको प्रष्ट धारणा बुझ्न सकिन्छ ।

माथि भनिएजस्तो कांग्रेसभित्रको अल्पमतमा रहेको कोइराला पक्षको दवाबकै कारण देउवाले गठबन्धनको विषयमा आफ्नो पूर्ववतः निर्णय र अडान फेर्ने छैनन् भन्ने पनि घटनाक्रमहरुले नै प्रष्ट पारिसकेका छन् ।

Muktinath Bikas Bank Limited

भारत निकटका नेताहरुको भनाईलाई हेर्ने हो भने ओली नेतृत्वको सरकारलाई खुलेरै सदासयता नदेखाए पनि भारतले केही महिना चूपचाप बस्ने र देउवा प्रधानमन्त्री बनेपछि आफ्नो पोजिसन खुलाउने रणनीति समेत अपनाएको देखिन्छ । यस्तै संकेत पाएकै कारण कांग्रेस सभापति देउवा यो गठबन्धन जोगाएरै लैजाने पक्षमा छन् ।  

उसो भए सेयर बजार किन घटिरहेको त ?

राजनीतिक स्थिरतासँग सेयर बजारको पनि साइनो हुन्छ । सरकार स्थिर रह्यो भने उसले स्थिर नीति बनाउँछ, जसको प्रत्यक्ष लाभ सेयर बजारलाई हुन्छ । यसकारण सरकार तलमाथि हुने हल्ला मात्र फैलियो भने नेपाली बजारका लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पर्छ । अहिले केही समूहहरुले हल्ला फैलाएर साधारण लगानीकर्ताको मनोबल कमजोर पार्ने खेल खेलिरहेका छन् ।  

अर्कोतर्फ बजारमा पुस मसान्तको प्रभाव पनि सुरु भएको देखिन्छ । पुसमा ब्याज तिर्नुपर्ने बाध्यतामा रहेका ठूला सेयर खेलाडीहरुले यहीबेला सेयर बेचिरहेका छन् । सँगै पुस अन्तिम सातादेखि बजार तताउने र राम्रो कमाउने उद्देश्यले साधारण लगानीकर्तालाई सरकार ढल्नै लागेको तुरुप फालेर तर्साइरहेका छन्, ताकि राम्रा कम्पनीको सेयर कित्ता सस्तोमा खोस्न सकियोस् । ठूला खेलाडीको पुस मसान्तको गर्जो टार्ने प्रयत्न र यही बेला बजारमा अत्यास सिर्जना गरी सस्तोमा सेयर सोहर्ने दाउ लगायतका स्वार्थहरुका कारण बजारमा गिरावट आएको देखिएको छ ।  

अर्कोतर्फ कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेपछि खराब कर्जाको थुप्रो लागेका कम्पनीहरुको कमजोर प्रदर्शनका कारण समेत नेप्से परिसूचकमा प्रभाव परेको देखिन्छ । खराब कर्जा धेरै भएका कम्पनीहरु समेत कर्णाली बैंकजस्तै हुन्छन् भन्ने गोलमटोल हिसाबकिताब र मनोविज्ञानले समेत बजारलाई हिट गरिरहेको देखिन्छ, जुन यथार्थपरक चाहिँ छैन । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको खराब कर्जाको कारणले मात्र होइन, झण्डै डेढ अर्ब रुपैयाँ हिनामिना भएका कारण केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।  

यथार्थ केही फरक

माथि प्रस्तुत गरिएका केही विषय बजार घटाउने फण्डाहरुसँग केन्द्रीत थिए । तर, सेयर बजारका लागि अहिलेजस्तो अनुकुल अवस्था सायदै हुँदैन । ब्याजदर घटेर ७ प्रतिशत हाराहारीमा आइपुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानीको विकल्प नपाएपछि केन्द्रीय बैंकले दैनिक रुपमै अरबौं अरब पैसा सिस्टममा प्रशोचन गरिरहेको छ ।  

एकातिर तरलता फालाफालको अवस्था, अर्कोतर्फ ऋणकै ब्याजदर घटेर ७ प्रतिशतमा आइपुगेको समय सेयर बजारका लागि स्वर्णिम समय हो । ऋणमै सेयर लोन लिएर भए पनि बजारमा लगानी गरी छोटो समयमा राम्रो रिटर्न लिनसकिने समय पनि हो । आजभोलि नै कतिपय कम्पनीको सेयर किन्दा वर्षभरि कुर्नेहरुकै हाराहारीमा लाभांश आफ्नो पोल्टामा पार्न सकिने समय पनि हो । यस्तो बेलामा बुद्धिमतापूर्वक राम्रा कम्पनीका लगानी गरी रिटर्न बुक गर्ने हो, ठूलाले तर्साएकै भरमा फ्याक्ट चेक नगरी दौडने समय हुँदै होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.