काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि पुस १६ गते सेबोनबाट स्वीकृती पाएको हो ।
सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कम्पनीले गत असार १८ गते आवेदन दिएको थियो ।
कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृती पाएको थियो ।