काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एसोसियसन अफ नेपालसँग सुझाव मागेको छ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले दिएको जानकारी अनुसार गत साता धितोपत्र बोर्डले एसोसियसनसँग आवश्यक सुझाव मागेको हो । स्टक ब्रोकर एसोसियनले छिट्टै छलफल गरेर यस विषयमा बोर्डलाई जबाफ पठाउने अध्यक्ष ढकालले जानकारी दिए ।
ब्रोकरहरुले सेयर कर्जा परिचालन गर्न ऐनको अभाव रहेको बताउँदै आएका छन् । कर्जा परिचालन गर्नु पहिले कर्जा उठाउने ऐन , स्रोतको पहिचान तथा ग्रहाकले गरेको कारोबार रेगुलर हो वा कर्जामार्फत गरेको हो भन्ने छुट्टाउन छुट्टै सिस्टम आबश्यक रहेको ब्रोकरहरुले बताउँदै आएका छन् ।
यस अघि नै नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको छ । धितोपत्र नियमावली २०८२ लागू गर्दै धितापत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरेको थियो ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिेरेले दिएको जानकारी अनुसार अब सबै २० करोड पूँजी भएका ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्नेछन् । यसको लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । हालको पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
ब्रोकरमार्फत पाइने मार्जिन कारोबार भनेको लगानीकर्ताबाट कम्तीमा ३० प्रतिशत नगद नै लिएर निश्चित समयावधिका लागि निश्चित रकम निश्चित ब्याजदरमा उपलब्ध गराइन्छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एशोसियसन, सीडपीएससी र नेप्सेसँग पनि राय सुझाव माग गरिएको जानकारी दिए ।