काठमाण्डौ । नेपालमा डण्डी विनाको ढलान सफल भएको छ । यससँगै अब स्टिल स्ट्रकचर (फलामको प्रयोग) बाट बहुतल्ले घर बनाउने वा स्ल्याव (भुइँ)का लागि के गर्ने भन्ने दोधार अन्त्य हुने भएको छ ।
इको प्यानल नेपालले लामो अध्ययन अनुसन्धानपछि यसको सफल प्रयोग भएको जनाएको छ । कम्पनीले जनाए अनुसार सन् २०१५ देखि स्टिल स्ट्रकचरको बहुतल्ले घरका लागि भूकम्पप्रतिरोधी रुपमा कसरी बनाउन सकिन्छ ? भनेर जापानी टोलीसँंग मिलेर यो अनुसन्धान गरिएको थियो । विदेशमा पहिलादेखि नै प्रयोगमा आइसकेको र हाल भक्तपुरलगायत नगरकोटका केही स्थानमाहरूमा स्टिल स्ट्रकचरल घरहरुमा यसको सफल प्रयोग भइसकेको जनाइएको छ ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृणभक्त दुवालका अनुसार यस प्रविधि अनुसार घर बनाउँंदा फलामको प्रयोग हुन्छ । आरसीसी ढलानमा जस्तै जग भन्दा मुनी ढलान कै हात्ती पाइला र टाइबिम हुन्छ भने माथि पिलर र विम हाल चलिआए जस्तै फलामकै हुन्छ । उनका अनुसार स्ल्याबका रुपमा साढे दुई इन्चको ढलान हुन्छ । यो ढलानमा डण्डीको प्रयोग गरिंदैन । यसमा सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको केमिकलको प्रयोग हुन्छ । थर्माेकोलको प्रयोगका कारण यो तुलनात्मक रुपमा निकै हलुका हुन्छ । यही कारण थेग्न सजिलो मात्रै नभई भूकम्प प्रतिरोधी पनि हुन्छ । यसमा ढलानका लागि पुरानो घरमा दलिन राखे जस्तै फलामका दलिनहरु राखिन्छ । साथै त्यसमाथि प्लाइबोड राखेर त्यसमाथि हलुका निर्माण सामाग्री राखेर ढलान गरिन्छ ।
यसअघिका स्ट्रकचरल घरका मुख्य समस्या नै स्ल्याबका रुपमा के गर्ने भन्ने थियो, इन्जिनियर दुवालले भने, अब त्यो समस्या हाम्रो अनुसन्धानले समाधान गरिदिएको छ । यसअघि एकतल्लाको स्टिल स्ट्रकचरमा समस्या थिएन । किनकि एकतल्ला मात्रै भएपछि माथिल्लो तल्लोमा छानोका रुपमा जस्तापाता राखिन्छ । तर बहुतल्ले बनाउनु पर्यो भने समस्या थियो । अहिले त्यही समस्याको समाधान निस्केको हो ।
उनका अनुसार आरसीसी घरमा स्ल्याब ढलान गर्दा सामान्यतयाः सात सय स्क्वायरफिट ढलान गर्दा एक टिपर वालुवा, एक टिपर रोडा, ६० बोरा सिमेन्ट लागेर ३० टन जतिको भार हुन्छ । तर फलामको स्ट्रकचरमा यो डण्डी बिनै लाइट वेट (हलुका) प्रविधिबाट गरिने स्ल्याव ढलान हलुका हन्छ । यसको वजन २ टन भन्दा बढी हँदैन ।
नेपालमा २०७२ सालको महाभूकम्पपछि धेरै घर टहराहरु वनेका थिए । साथै व्यापारिक प्रायोजनका लागि पनि कम खर्चमा धेरै तल्लाका फलामको घर बनाउने चलन बढेको छ । साथसाथै, भूकम्पप्रतिरोधी घर भबन बनाउने क्रम पनि तीव्र छ । तर यसरी आरसीसी ढलानबाहेकको स्टिल स्टकचरका घरको स्ल्यावको समस्या समाधान भएको कम्पनीले जनाएको छ ।
२०७८ सालको राष्टिय जनगणना अनुसार देशभर पक्की घरमा बसोबास गर्ने परिवारहरु ७६.५ प्रतिशत पुगेको छ । जनगणनामा घरको छाना र बाहिरी वालमा प्रयोग भएको निर्माण सामाग्रीको प्रकृतिका आधारमा घरलाई पक्की, अर्धपक्की र कच्ची भनेर वर्गीकरण गरिएको छ । स्थायी निर्माण सामाग्री सिमेन्ट, इँटा, ढुंगा, स्लेट, टायल र ग्याल्भेनाइज्ड जस्तापाताले बनाइएको घरलाई पक्की घर भनेर वर्गीकरण गरिएको छ । घरको वाल वा छानामध्ये एक स्थायी र अर्को अस्थायी निर्माण सामाग्री माटो, काँचो इँटाबाट बनाइएको घरलाई अर्धपक्कीमा गणना गरिएको छ । यस्तै, अस्थाई निर्माण सामाग्रीहरु दाउरा, बाँस, पराल, खर, माटो, काँचो इँटाबाट निर्माण गरिएका घरलाई कच्ची घरमा वर्गीकरण गरिएको छ । आर्थिक अभाबका कारण अहिले पनि धेरै नेपाली स्टिल स्ट्रकचर वा अन्य टहराहरुमा वस्न बाध्य छन् ।