काठमाण्डौ । देशभरका कृषि प्रयोगशालामा गरिएको परीक्षणले बजारमा पुग्ने तरकारीमा विषादीको समस्या अझै कायम रहेको देखाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा परीक्षण गरिएका २५ हजारभन्दा बढी तरकारी नमूनामध्ये १२६ वटामा उपभोग गर्न नहुने स्तरको विषादी अवशेष फेला परेको छ । यद्यपि सरोकारवाला निकायका लागि अझ ठूलो चुनौती भने परीक्षणमा फेल भएका तरकारी तथा फलफूलको प्रभावकारी व्यवस्थापन बनेको छ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार उक्त अवधिमा देशका १२ स्थानमा रहेका प्रयोगशालाबाट २५ हजार ९० नमुनाको परीक्षण गरिएको थियो। तीमध्ये १२६ नमुनामा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको छ भने ४९ नमुनामा केही समय पर्खेर पुनः परीक्षण गर्नुपर्ने अवस्था देखिएको थियो।
प्रयोगशालाले विषादी अवशेषको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई उपभोगयोग्य मान्ने गरेको छ। ३५ देखि ४५ प्रतिशतसम्म रोकावट दर भएका उत्पादनलाई केही दिनपछि पुनः परीक्षण गरी बिक्रीका लागि अनुमति दिन सकिने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी अवशेष भेटिएमा त्यस्ता उत्पादन नष्ट गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।
तथ्यांकअनुसार कालीमाटी, पोखरा र कावासोतीमा सबैभन्दा बढी २६/२६ वटा नमुना उपभोग अयोग्य देखिएका छन्। अत्तरियामा १३, नेपालगन्ज र सुर्खेतमा सातरसात, बुटवलमा पाँच तथा अन्य केही केन्द्रमा पनि विषादीको उच्च मात्रा फेला परेको छ।
नेपालमा हाल १६९ प्रकारका विषादी दर्ता भई प्रयोगमा रहे पनि प्रयोगशालाको परीक्षण प्रणालीले सबै प्रकारका विषादी पहिचान गर्न नसक्ने अवस्था रहेको विज्ञहरू बताउँछन्। यसले बजारमा उपलब्ध कृषि उपजको सुरक्षा सुनिश्चित गर्न थप प्रविधि, जनशक्ति र निगरानी प्रणाली आवश्यक रहेको औल्याएको छ।
कृषि क्षेत्रमा उत्पादन वृद्धि सँगसँगै खाद्य सुरक्षाको प्रश्न पनि महत्वपूर्ण बन्दै गएको छ। विषादी परीक्षणमा असफल भएका उत्पादनको व्यवस्थापन र अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउन नसके उपभोक्ताको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने जोखिम कायमै रहने देखिन्छ।

