आईतवार, श्रावण ३,२०८३ 09:26:24
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:26:24
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरो : बजेटपछि ब्रोकर हाउसमा सन्नाटा, लगानीकर्ताको एउटै प्रश्न-‘बजार कहिले उठ्छ ?’

ग्राउण्ड जिरो : बजेटपछि ब्रोकर हाउसमा सन्नाटा, लगानीकर्ताको एउटै प्रश्न-‘बजार कहिले उठ्छ ?’
New Office

काठमाण्डौ । हरेक सोमबार प्रकाशित हुने बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत यसपटक हामीले बजेटपछिको पूँजीबजारको वास्तविक मनोविज्ञान बुझ्न राजधानीका विभिन्न ब्रोकर हाउसको स्थलगत अवलोकन गरेका छौं।

न्यूप्लाजा, घट्टेकुलो र अनामनगरस्थित तीन ब्रोकर हाउसमा पुग्दा एउटा समान दृश्य देखियो—स्क्रिनमा राताम्ये अंक, कुर्सीमा विरलै लगानीकर्ता र अनुहारमा बढ्दो निराशा।

बजेटअघि ‘यसपटक केही हुन्छ’ भन्ने आशामा बसेका लगानीकर्ताहरू अहिले भने ‘अब के हुन्छ ?’ भन्ने अन्योलमा देखिए। बजेटपछि बजारले गति लिने अपेक्षा गरिएको थियो। तर त्यसको ठीक उल्टो नेप्से लगातार दबाबमा छ। परिणामस्वरूप, एक समय खचाखच भरिने ब्रोकर कार्यालयहरूमा अहिले सन्नाटा छाएको छ।

न्यूप्लाजामा निराशाको बहस

ब्रोकर नम्बर ५९, दिव्या सेक्युरिटिजमा पुग्दा बजार खुलेको केही समयमै नेप्से दोहोरो अंकले घटिसकेको थियो। कार्यालयमा जम्मा दुई-तीन जना लगानीकर्ता मात्रै थिए।

एक लगानीकर्ताले बजार फेरि घटेको चर्चा निकालेपछि त्यहीँ बसेका अर्का लगानीकर्ताले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

उनको भनाइ थियो, “बजेटपछि सुधार आउँछ भन्ने अपेक्षा थियो, तर बजार झन् कमजोर बन्यो। लगानीकर्ताले विश्वास गर्ने आधार नै भेटिरहेका छैनन्।”

अर्का लगानीकर्ताले बजारको कमजोर अवस्थालाई ‘मनोवैज्ञानिक संकट’ को संज्ञा दिए। सामाजिक सञ्जालमा बजार क्र्यासको चर्चा बढ्दा झन् लगानीकर्ता डराएको उनीहरूको बुझाइ थियो।

उनीहरूको निष्कर्ष स्पष्ट थियो-नीतिगत सुधारको चर्चा भए पनि त्यसको प्रभाव बजारले महसुस गर्न सकेको छैन।

घट्टेकुलोमा महँगी र बजारको तुलना

ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिजमा पनि दृश्य फरक थिएन। सामान्य दिनमा लगानीकर्ताको भीड लाग्ने कार्यालयमा कुर्सीहरू खाली देखिन्थे।

यहाँ भेटिएका लगानीकर्ताहरूको चिन्ता बजार मात्रै थिएन, बजेटपछिको कर नीति र त्यसले निम्त्याउन सक्ने महँगी पनि थियो।

एक लगानीकर्ताले भने, “कर बढेको असर बजारमा होइन, दैनिक उपभोगका वस्तुमा देखिन थालेको छ। पानीदेखि अन्य वस्तुसम्म महँगो हुने चर्चा छ। तर सेयरको मूल्य भने बढ्न सकेको छैन।”

उनको प्रश्न थियो-यदि अर्थतन्त्र सुधारको बाटोमा छ भने त्यसको संकेत पूँजीबजारमा किन देखिँदैन ?

त्यहाँ उपस्थित अर्का लगानीकर्ताले भने बजारमा नयाँ पैसा प्रवेश नभएसम्म सुधारको अपेक्षा गर्न कठिन हुने टिप्पणी गरे।

अनामनगरमा सरकारको नीति र लगानीकर्ताको मनोबल

अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा पुग्दा वातावरण झन् गम्भीर देखिन्थ्यो। लामो समयसम्म लगानीकर्ताहरू एकआपसमा खासै संवाद नगरी मोबाइल र स्क्रिनमै केन्द्रित थिए।

केहीबेरपछि सुरु भएको छलफलको केन्द्रमा सरकारको आर्थिक नीति, सम्पत्ति शुद्धीकरण अनुसन्धान र लगानीकर्ताको मनोबल थियो।

एक लगानीकर्ताले भने, “नयाँ सरकारसँग धेरै अपेक्षा थियो। तर पूँजीबजारलाई प्राथमिकतामा राखिएको अनुभूति हुन सकेन।”

अर्का लगानीकर्ताले पछिल्लो समय ठूला व्यवसायी र लगानीकर्तामाथि भएका अनुसन्धान तथा पक्राउ प्रक्रियाले बजारमा डरको वातावरण सिर्जना गरेको बताए।

उनको तर्क थियो, “छानबिन आवश्यक हो, तर त्यसको प्रक्रिया र सन्देशले बजारमा नकारात्मक मनोविज्ञान निर्माण गर्नु हुँदैन।”

छलफलका क्रममा बारम्बार उठेको अर्को विषय थियो-नेपालमा अझै पनि सेयरलाई ‘सम्पत्ति’ का रूपमा पर्याप्त मान्यता नदिइनु।

एक अनुभवी लगानीकर्ताले भने, “घरजग्गा, सुन वा अन्य सम्पत्तिजस्तो सेयरलाई पनि राज्यले दीर्घकालीन सम्पत्तिका रूपमा हेर्नुपर्छ। त्यस्तो सोच विकास नभएसम्म पूँजीबजारले अपेक्षित मूल्यांकन पाउन कठिन हुन्छ।”

ब्रोकर हाउसको सन्नाटाले के संकेत गर्छ ?

तीन फरक स्थानका ब्रोकर हाउसमा पुग्दा लगानीकर्ताका गुनासा फरक–फरक भए पनि निष्कर्ष एउटै देखियो-बजार अहिले विश्वासको संकटबाट गुज्रिरहेको छ।

सरकार परिवर्तन भयो, बजेट आयो, नीति घोषणा भए। तर लगानीकर्ताले खोजेको कुरा भने अझै प्राप्त गरेका छैनन् -विश्वास।

नेप्सेको उतारचढावभन्दा ठूलो चुनौती अहिले लगानीकर्ताको मनोबल बनेको छ। किनभने बजार केवल अंकले होइन, अपेक्षा र विश्वासले पनि चल्छ।

र, राजधानीका ब्रोकर हाउसमा देखिएको सन्नाटाले यही संकेत गरिरहेको छ-लगानीकर्ता अहिले कारोबारभन्दा बढी प्रतीक्षामा छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.