काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको लाभांश सिजन सकिएसँगै बीमा कम्पनीहरुको लाभांश घोषणा सुरु भएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमा बीमा कम्पनीहरुले अन्य कम्पनीको तुलनामा ढिलै लाभांश प्रस्ताव गर्ने गर्दछन् ।
विशेषगरी माघ महिनादेखि बीमा कम्पनीहरुको लागि लाभांश सिजन सुरु हुन्छ । हालसम्म गत आवको वितरणयोग्य मुनाफाबाट लाभांश प्रस्ताव गर्नेमा चार कम्पनी मात्रै छन् । जीवन बीमातर्फ सुर्यज्योति लाइफ र नेपाल लाइफ छन् भने निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्स रहेका छन् ।
हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफले भने केही समयअघि आव २०७९–८० सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।
गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका चार कम्पनीले उत्कृष्ट लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीहरुको लाभांश सिजन सुरु भएलगत्तै राम्रो सुरुवात भएको छ ।
जीवन बीमातर्फ नेपाल लाइफले गत आवको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११।०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१।५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने सुर्यज्योति लाइफले २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरी कुल १०।५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
समग्रमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश सुखद् देखिएको छ । सूचीकृत कम्पनीहरुमा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको लाभांशदर खस्किँदै गइरहेकोमा बीमा कम्पनीहरुले भने लाभांश प्रस्तावमा सुखद् ओपनिङ गरेका छन् ।
गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट अझैपनि २० बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । जसमा १० जीवन बीमा कम्पनी र १० निर्जीवन बीमा कम्पनी रहेका छन् ।
लाभांश घोषणा गरिसकेका ४ बीमा कम्पनीको नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुगिसकेको छ । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
नेप्सेमा सूचीकृत जीवन बीमातर्फ पुँजी नपुग्ने कम्पनीमा सन नेपाल, सिटिजन लाइफ, र प्रभु महालक्ष्मी लाइफ रहेको छ । जसमध्ये तोकिएको पुँजी पुर्याउन सन नेपाल र प्रभु महालक्ष्मी लाइफ राइट सेयर निष्कासनको प्रक्रियामा छन् भने सिटिजन लाइफले अपुग पुँजी बराबरको बोनस सेयर जारी गरेर पुँजी जुटाउन सक्ने देखिन्छ ।
यता नेप्सेमा सूचीकृत निर्जीवनतर्फ युनाइटेड अजोड, एनएलजी, राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, सानिमा जिआइसी, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स रहेका छन् । जसमध्ये एनएलजी र नेको इन्स्योरेन्सले तोकिएको पुँजी पुर्याउन हकप्रद जारी गरिसकेका छन् भने सानिमा जिआइसी, युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स हकप्रद निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् ।
हकप्रदपश्चात् तोकिएको पुँजी पुगेपनि बीमा कम्पनीहरुले राम्रै लाभांश घोषणा गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ । लाभांश प्रस्ताव गरिसकेका सिद्धार्थ प्रिमियर र सुर्यज्योति लाइफले गत आवको मुनाफाबाट बोनस सेयर प्रस्ताव नगरेपनि उत्कृष्ट नगद लाभांश प्रस्ताव गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम यतिबेला बीमा कम्पनीहरु पुँजी जुटाउन लागिपरेका छन् । हकप्रद निष्कासनबाट तोकिएको पुँजी पुर्याउन लामो प्रक्रिया झेलेका बीमा कम्पनीले के कति लाभांश देला या नदेला भन्ने आम लगानीकर्ताबीच चासोको विषय पनि बनेको छ ।
बीमा कम्पनीहरुको लाभांश घोषणको सेनारियो हेर्दा अधिकांश बीमा कम्पनीले राम्रै लाभांश प्रदान गर्ने प्रक्षेपण देखिन्छ । बीमा कम्पनीहरुले गत आवमा पनि राम्रै मुनाफा आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले आर्जित मुनाफाबाट केही प्रतिशत रकम लाभांशको रुपमा छुट्याएका हुन्छन् भने जीवन बीमा कम्पनीहरुले यस्तो रकम छुट्याएपनि एक्चुरियल भ्यालुएसनपछि मात्रै जीवन बीमा कम्पनीको लाभांश तय हुन जान्छ ।