काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आजसम्म कम्पनीको आइपीओमा मागभन्दा ६.२० गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आइपीओमा ४९ हजार ९४९ आवेदकले १३ लाख ९५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १३ करोड ९५ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गरेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओमा लगानीकर्ताले माघ २९ गते अर्थात् भोलिसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ ३ गते स्वीकृती पाएको थियो । जस अन्तर्गत कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।