काठमाण्डौ । एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैंकले आगामी फागुन २२ गते आह्वान गरेको २७ औं वार्षिक साधारणसभामा प्रतिसेयर रु. १०० का दरले रु. ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिती अग्राधिकार सेयर(एनआईसी एशिया पर्पेच्यूअल नन्क्यूमिलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।
नियामक निकायहरुको स्वीकृति प्राप्त गरेपछि सञ्चालक समितिले गरेको प्रस्तावबमोजिम अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गरिने साधारणसभा सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।
बैंकले साधारणसभामा साबिकको अधिकृत पूँजी १४ अर्ब ९२ करोडलाई १९ अर्ब ९२ करोड बनाउने, जारी पूँजीलाई पनि १४ अर्ब ९१ करोडबाट बढाएर १९ अर्ब ९१ करोड बनाउने तथा चुक्तापूँजी १४ अर्ब ९१ करोडलाई समेत बढाएर १९ अर्ब ९१ करोड बनाउने प्रस्ताव समेत पेश हुनेछ ।
बैंकको साधारणसभामा फागुन २२ गते बिहान ९ बजे काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ ।
![](https://www.bizshala.com/uploads/67ab0759d0907.png)
के हो अविमोच्य असञ्चिती अग्राधिकार सेयर ?
अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधारण सेयरको तुलनामा प्राथमिकताप्राप्त अथवा प्रमोटर इक्विटी सेयर जस्तै हो । यसलाई अग्राधिकार सेयर पनि भनिन्छ ।
अंग्रेजीमा यसलाई पर्पेचुअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर भनिन्छ। पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएको भन्ने हुन्छ। नन् क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ।
त्यस्तै, प्रिफरेन्स सेयर अर्थात् अग्राधिकार सेयर भनेको लाभांश दिँदा वा संस्था विघटन हुँदा यस्ता सेयरधनीलाई प्राथमिकतामा राखेर भुक्तानी गरिन्छ। तर, यस्ता सेयरधनीले कम्पनीको साधारण सभामा मतदान गर्न पाउँदैनन् ।
यसरी यस्तो सेयरमा लाभांश भने क्युमुलेटिभ रुपमा पाउन सकिन्न । साधारण सेयरको लाभांशदर घटबढ हुन सक्दछ तर अग्राधिकार सेयरको लाभांश सधैं एउटै हुने गर्दछ । पहिला अग्राधिकार सेयरले लाभांश पाइसकेपछि मात्र साधारण सेयरधनीलाई लाभांश वितरण गरिन्छ । अग्राधिकार सेयरको विभिन्न प्रकार हुने गर्दछन जसमा क्युमुलेटिभ र ननक्युमुलेटिभ लगायत ।
कुनै वर्ष कम्पनीले अग्राधिकार सेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने आगामी वर्ष नाफा हुँदा जोडेर दिने व्यवस्था रहेको छ । त्यस्तो सेयरलाई क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ । भने, जुन वर्ष नाफा भएको हो त्यही वर्ष मात्र लाभांश बाँडिने सेयरलाई नन् क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ ।
कम्पनी घाटामा गएको अवस्थामा भने यसका लगानीकताृले लाभांश पाउँदैनन् ।
पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ । राष्ट्र बैंकको नियम अनुसार वाणिज्य बैंकहरूको कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्छ। बैंकहरूको प्राथमिक पुँजी कोषमा सेयर पुँजी, वैधानिक साधारण जगेडा, सेयर प्रिमियम, लगानीकर्तालाई बाँड्न मिल्ने सञ्चितिदेखि विशेष किसिमको अग्राधिकार सेयर तथा ऋणपत्र हुन्छन् ।
एनआईसी एशियाले किन जारी गर्दैछ यस्तो सेयर ?
एनआईसी एशियाले यो विकल्प रोज्नुको कारण भनेको पूँजीकोष थप सवल बनाउनलाई हो ।
पुँजी कोषमा दबाब रहेका बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ। यस सम्बन्धमा विभिन्न १२ मापदण्ड तोकिएको छ।
साधारणतया यस्तो अग्राधिकार सेयर सेयरमा परिणत हुँदैनन्। तर बैंक चल्नै नसक्ने अवस्थामा यसलाई सेयरमै रूपान्तरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ। कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइन्छ । यस्तो अनुपात ५.१२५ प्रतिशतमा पुग्दा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ।