काठमाण्डौ । माघ मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणको आकार २६ खर्ब बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ७ महिनामा सरकारी ऋणको आकार २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको हो ।
माघसम्म तिर्न बाँकी सरकारी ऋणमा आन्तरिक १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.७७ प्रतिशत हुन आउने कार्यालयले जनाएको छ ।
विनिमय दरमा भएको परिवर्तनका कारण ७ महिनामा ३६ अर्ब ५९ करोडबराबरको दात्यिव थपिएको छ ।
गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो । यस्तै गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।