काठमाण्डौ। गत फागुन ४ गतेदेखि सेयर बजार लगातार बढ्न थालेको छ । ६ कारोबार दिनमा ६ दिन नै बजार बढेपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नजिकिदै जानु र नेपाल राष्ट्र बैंकमा नयाँ गनर्भर आउने विषयले विशेषगरी सेयरबजारमा छुट्टै रौनक देखिन थालेको छ ।
बजार लगातार बढ्दै जाँदा वित्तीय अवस्था बलिया वा कमजोर भएका सबैखालका कम्पनीहरु चल्न थालेका छन् । पछिल्लो समयमा ‘लार्ज क्याप’ र ‘मिड क्याप’ भएका कम्पनीहरु पनि चल्न थालेको वा लगानीकर्ताहरु त्यस्ता कम्पनीमा सिफ्ट भएको अनुमान गरिएको छ ।
बजार लगातार बढ्दै जाँदा दुई पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स र नेपाल रि-इन्स्योरेन्सको सेयरभाउ पनि लगातार बढ्दै गएको छ । यी दुई कम्पनीको सेयरभाउ यसरी लगातार बढ्दै जानुमा सेयरमूल्यमा चलखेल गरिएको आशंका गरिएको छ ।
बजारमा लगानीकर्ताहरुबीच यी दुई कम्पनीको इन्साइडर ट्रेडिङ भएको वा सेयर म्याचिङ र ग्रुप ट्रेडिङ भएको हुनसक्ने अनुमान लगाइएको छ ।
विशेषगरी यसरी नेप्सेमा सूचीकृत कम्पनीहरुको विषयमा गोप्य सूचना प्राप्त हुने वा लगानीकर्तालाई हित हुने खालका समाचार आउँदा त्यस्ता कम्पनीको मात्रै सेयरभाउ यसरी लगातार बढ्ने सम्भावना रहन्छ ।
वा ती कम्पनीहरुले डिभिडेन्डको रुपमा लगानीकर्तालाई उचित प्रतिफल बाँड्ने तथा हकप्रद आउने जस्ता विषय छ, भने गोप्य सूचना प्राप्त गरेकै आधारमा त्यस्ता कम्पनीको सेयरभाउ यसरी क्रमिक रुपमा बढ्दै जाने र सर्वाधिक कारोबारको सूचीमा पनि आउने सम्भावना रहन्छ ।
यतिबेला बजारमा दुई पुनर्बीमा कम्पनीको सेयरभाउ त्यसरी नै बढ्दै गएको छ र सर्वाधिक कारोबार पनि हुँदै गएको देखिन्छ । लगानीकर्ताहरुले सेयरमूल्यमा चलखेल गरी उचालिएको आशंका व्यक्त गरिरहेका छन् ।
हालसम्म नेपाल रि र हिमालयन रि लक्षित लाभांश वा अन्य विेशष समाचार तथा सूचना सार्वजनिक भइसकेका छैनन् । तरपनि नेप्सेको फ्लोरसिटमा यी दुई कम्पनीको सर्वाधिक कारोबार भइरहनुले इन्साइडर ट्रेडिङ वा सेयरमूल्यमा चलखेल गरिएको हल्ला चल्न थालेको छ ।
बजार जानकार सरोज भट्टराई भने यी दुई पुनर्बीमा कम्पनीको हकप्रद आउन सक्ने हल्लाले सेयरभाउ पनि बढेको हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
‘विशेषगरी नेपाल रि र हिमालयन रि को यतिबेला चुक्तापूँजी बढाउने विषयले हकप्रद आउन सक्ने लगानीकर्ताहरु अनुमान लगाइरहेका छन्’ उनले भने, ‘त्यसबाहेक यसरी सेयरमूल्य लगातार बढ्ने अन्य कुनै कारण छैन, तर मेरो बुझाईमा यी दुई कम्पनीले जसरी पनि २० अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने भएकाले हकप्रद आउने र डिभिडेन्ड पनि राम्रै दिन सक्ने अनुमान लगाउन सकिन्छ ।’
साथै, पछिल्लो समय हल्लाकै कारणले बजार माथि बढ्ने वा घट्ने अवस्था सिर्जना भएको उनको भनाई छ । ‘अहिले सेयरबजार हल्लै हल्लाले मात्रै चलेको अवस्था छ, फलानो कम्पनीले लाभांश दिने वा नदिने, हकप्रद आउने वा नआउने र सेयरभाउ बढ्छ या बढ्दैन जस्ता हल्लाले नै बजार चलिरहेको छ’ उनले भने, ‘नेपाल रि र हिमालयन रि को पनि अहिले हल्लाकै भरमा सेयरमूल्य बढेको हुन सक्छ, यी दुई कम्पनीलाई प्रभाव पार्ने खालका त्यस्तो केही विशेष सूचना आइसकेको छैन, विजनेश र प्रफिटको अवस्था पनि यी दुई कम्पनीको सामान्य नै छ ।’
साथै, अर्का बजार जानकार टेकेन्द्र थपलिया पनि यी दुई कम्पनीको सेयरमूल्यमा चलखेल भएको हुन सक्ने अनुमान लगाउनछन् । ‘नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य लगातार बढ्दै गएको छ, सेयरमूल्य चलखेल भएको हुनसक्छ नत्र यी कम्पनीहरु लक्षित त्यस्ता विशेष समाचार आएका छैनन्’ उनले भने, ‘नेपाल रि ले त अझै तीनवटा रिर्पोट सार्वजनिक गर्न बाँकी नै छ र हिमालयन रि को रिर्पोट हेर्दा सामान्य नै छ ।’
नेपाल रि र हिमालयन रि को सेयरभाउ हल्लैहल्लाको भरमा बढेको उनले पनि तर्क व्यक्त गरेका छन् । ‘यी दुई कम्पनीबाट रिफण्डको हिसाबले तत्कालै खासै केही आउनेवाला छैन, तर चुक्तापुँजी बढाउन हकप्रद भने आउन सक्छ’ उनले भने, ‘सेयरभाउ बढेपछि लगानीकर्ताहरु यत्तिकै उत्साहित देखिएका हुन्, यी दुई कम्पनी उस्ताउस्तै कम्पनी भएकाले एउटाको मूल्य बढ्दा अर्को कम्पनीको पनि मूल्य प्रतिबिम्बित भई बढ्न गएको देखिन्छ ।’