काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए ।
श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा समेत उनले जोड दिए ।
‘सेभ द हिमालय–प्रोटेक्टिङ राइट्स अफ वर्कर्स’ विषयमा विमर्श पनि गरिएको कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) को जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष जगत सिंखडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित राष्ट्रिय निर्देशकलगायत सहभागी थिए ।