काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ३ हजार डलरको कोसेढुङ्गा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४६ प्रतिशत अर्थात प्रतिऔंस १३.६८ डलरले बढेको छ ।
यससँगै सुनको मूल्य ३ हजार ११.५६ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यससँगै एक साताको अन्तरालमा सुनको मूल्य दुइपटक अल टाइम हाईको उचाईमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण लगानीकर्तामा बढेको अनिश्चितताका कारण पछिल्लोसमय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यो वर्ष सुनको मूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भईसकेको छ ।
ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यकाल सम्हालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले १४ पटकसम्म अल टाइम हाईको रेकर्ड बनाएको छ । विश्व व्यापार संकट गहिरिएसँगै लगानीकर्ता तुलनात्मक रुपमा सुरक्षित मानिने सुनतर्फ आकर्षित भएका छन् ।
यस्तै आज डलर कमजोर बन्दा समेत अन्य मुद्राधारकहरुका लागि सुनको खरिद सस्तो पर्न गएको छ । जसका कारण माग बढ्दा सुनको मूल्य बढेको छ ।
आज चाँदीको मूल्य पनि ०.१३ डलरले बढ्दै प्रतिऔंस ३३.९३ डलर पुगेको छ ।