काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । सोमध्ये १० हजार १२६ वटा आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८६ वटा आवेदन सदर भएको छ ।
कम्पनीको आईपीओ १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।
सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम १००.८६ रुपैयाँदेखि अधिकतम ३०२.५८ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
क्रेष्ट माइक्रो लाइफको आर्थिक वर्ष २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८६ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८३/८४ सम्म नेटवर्थ १४५.९३ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।