काठमाण्डौ । सभामुख र प्रमुख सचेतकबीचको बैठकले सार्वजनिक बिदा बाहेक अन्य सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरमा आज भएको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।
बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । बैठकमा सभामुख घिमिरेले संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको बताए ।